Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५५०औँ अंक

देशपरदेशको यो अंक समयमै श्रम स्वीकृति गर्नु पर्ने कारण, यसका फाइदासँगै श्रम स्वीकृति के कसरी लिन सकिन्छ भन्ने विषयमा केन्द्रित छ । कार्यक्रममा विदेश उड्ने बेलामा मात्रै श्रम स्वीकृति गर्न खोज्दा श्रमिकले भोग्नुपरेका अनुभव सुन्न सकिन्छ । यस्तै श्रम स्वीकृति सेवालाई सरल र सहज रुपमा प्रदान गर्न सरकारले गरेका व्यवस्थाबारे वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यसँगको कुराकानी पनि कार्यक्रममा छ । अनि श्रम स्वीकृतिको महत्व के हो ? श्रम अवधि सकिंनासाथ नवीकरण गर्नुपर्ने कारण र पुनः श्रम स्वीकृतिका फाइदाबारे अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँगको कुराकानीलाई पनि कार्यक्रममा समेटेका छौँ । साथमा तपाईंको प्रश्नमा हाम्रो उत्तर र हप्ताभरिका रोजगार गतिविधि पनि यस कार्यक्रममा सुन्न सक्नुहुन्छ ।