Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५५४औँ अंक

देश परदेशकाे याे अंक वैदेशिक रोजगारीको प्रक्रियालाई सहज बनाउने सरकारी पहल र नीतिगत व्यवस्थामा केन्द्रित छ । वैदेशिक रोजगार ऐनले झण्डै एक महिना अवधि तोकेको भए पनि श्रमिक छनौट गरी बाँकी प्रक्रिया पूरा गरेर विदेश उडाउन म्यानपावर कम्पनीहरुले ६ महिनासम्म लगाउँछन् । ऐनले गरेको व्यवस्था र व्यवहारबीचमा किन तालमेल हुन सकेन त ? यो प्रश्नको जवाफ गन्तव्य देशमा रहेका नेपाली दूतावास, म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागबाट ल्याएका छौं । नेपालबाट वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रियालाई छोटो तथा सजिलो बनाउन के गर्न पर्ला भनेर अधिवक्ता सोम लुईँटेलको विचार पनि कार्यक्रममा समेटेका छौं । यस्तै, आजको कार्यक्रममा दिदीबहिनीका कुरालाई पनि समेटेका छौँ । ललितपुरकी सुनिता श्रेष्ठको संघर्ष र सफलताको अनुभव यसमा सुन्न सक्नुहुन्छ । साथमा हप्ताभरिका रोजगार गतिविध त छदैछन् ।