Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५५८ औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५५८ नेपालीलाई मौसमी कामदारकाको रूपमा लिन गन्तव्य देशले लगाएको प्रतिबन्ध र भइरहेको ठगीमा केन्द्रित छ । मौसमी कामदार पठाउनका लागि सरकारले ल्याएको निर्देशिका र यसका प्रावधानबारे जानकारी र  सरकारले निर्देशिका जारी गरेपछि मौसमी कामदारको रूपमा नेपाली श्रमिक लैजान गन्तव्य देशबाट कामको माग आएको छ त ? कोही व्यक्ति वा म्यानपावरले रकम लिएर कोही कसैलाई मौसमी कामदारका रूपमा पठाउन पाउँछन् कि पाउँदैनन् त ? वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिनुभएको जानकारी कार्यक्रममा सुन्न सकिन्छ । बेलायत र कोरियाजस्ता देशमा मौसमी कामदारका रूपमा गएर कयौँ नेपालीले आकर्षक कमाइ गरेर फर्किएका छन् । तर यस वर्षदेखि भने यी देश नेपालीलाई मौसमी कामदारका रूपमा लैजान अनिइच्छुक देखिएका छन् । यसलाई कसरी बुझ्न सकिन्छ ? सरकारले व्यवस्थित रूपमा मौसमी कामदार पठाउने तयारी थालेपछि गन्तव्य देश भने पछि हट्दा यसको प्रभाव कस्तो होला त ? नेपाल ट्रेड युनियन महासङ्घका सचिव स्मृति लामाका विचार पनि कार्यक्रममा समावेश छ । साथमा छ हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।