Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५५९ औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५५९ वैदेशिक रोजगारीको आवरणमा भइरहेको मानव तस्करी र बेचबिखनको विविध पक्षमा केन्द्रित छ । वैदेशिक रोजगारीको नाममा कसरी हुन्छ मानव तस्करी ? वैदेशिक रोजगारीमा जानेहरू मानव तस्करीमा पर्ने के कस्ता जोखिम छन् र तिनबाट कसरी बच्ने भन्ने विषयमा पिपल फोरममा आबद्ध अधिवक्ता सुदीप देवकोटाका सुझाव कार्यक्रममा समावेश छ । महिलाहरू आफन्त र चिने जानेकै मानिसबाट पत्तै नपाई बेचबिखन र तस्करीमा परिरहेका छन् । यस्तो कसरी र किन हुन्छ ? महिलाहरू बेचबिखन तथा तस्करीमा पर्ने अवस्था र यसका विविध पक्षबारे नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । साथमा छन्, वैदेशिक रोजगारी र मानव बेचबिखन तथा मानवतस्करीबीचको भिन्नता र यस सम्बन्धी नेपालमा भएका कानुनी प्रावधान, अनि मानव बेचबिखन र मानव तस्करी नियन्त्रणका लागि खाडीका देशका प्रावधानसम्बन्धी जानकारी र हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।