Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५६० औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५६० दुई वर्षे श्रम स्वीकृति हटाइएको विषय र प्रदेश स्तरमा विस्तार भएको वैदेशिक रोजगारीका विविध सेवा बारेमा केन्द्रित छ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले प्रदान गर्ने दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटेपछि अब करार अवधिको आधारमा के कसरी श्रम स्वीकृति पाइन्छ र थप कागजात र प्रक्रिया के कस्तो गर्नु पर्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यबाट सुन्न सकिन्छ । प्रदेश स्तरबाट श्रम स्वीकृतिसँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य कुन कुन सेवा, के कसरी पाइन्छ भन्ने विषयमा जानकारीमूलक सामग्री पनि कार्यक्रममा समेटिएको छ । साथमा छ प्रदेश स्तरबाट श्रम स्वीकृति र वैदेशिक रोजगारीसम्बन्धी अन्य सेवा लिन सजिलो अप्ठेरो के छ त ? भन्ने विषयमा श्रमिकको अनुभव, तपाईँले सोधेको प्रश्नमा हामीले खोजेको उत्तर र श्रम तथा रोजगार गतिविधि पनि ।