Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५७१औँ अंक

देश परदेशको यो अंक आउँदो आर्थिक वर्षको बजेटमा समेटिएको श्रम तथा रोजगार क्षेत्र र प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि र अबको योजनामा केन्द्रित छ । आउँदो आर्थिक वर्षको बजेटमा समावेश श्रम र रोजगार क्षेत्रका विविध विषयबारे जानकारीमुलक सामग्री कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै बजेटमा समावेश पुरानै कार्यक्रमको औचित्य, आवश्यकता र प्रभावकारीता के छ ? साथै प्रधानमन्त्री रोजगार पुनर्संरचना गर्ने भनिएको छ के हो त्यो भनेको ? यीनै विषयमा रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीसँग गरिएको कुराकानी । साथमा छ पछिल्लो समय विभिन्न ठाउँहरुमा आयोजना भइरहेको रोजगार मेला र यसको प्रभावकारिता समेटिएको जानकारी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । साथमा हप्ताभरिका रोजगार तथा श्रम गतिविधि त छँदैछन् ।