Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

देश परदेशको ५९७ औं अंक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ । अदक्ष जनशक्तिलाई सीपयुक्त बनाएर आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारको लागि प्रतिस्पर्धी बनाउन भन्दै राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय भएको हो । यो निर्णयसँगै भैसेपाटी, इटहरी र बुटलवमा रहेका व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएका छन् । बिकास समितिले बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने र समितिले दिएको प्रमाणपत्रले अन्तर्राष्टिय मान्यता पाउने दाबी गरेको छ । विकास समितिले स्वदेश वा विदेशमा रोजगारीको लागि उपयोगी हुने बिभिन्न विषयका निर्धारित पाठ्यक्रम अनुसार ६ महिनासम्मको प्रशिक्षण दिनेछ । यो समितिले सीप विकास तथा उद्यमशीलता विकास तालिम, वैदेशिक रोजगारीमा जान छनोट भएका कामदारका लागि सञ्चालन गरिने पूर्वप्रस्थान अभिमुखीकरण, मुख्य प्रशिक्षक प्रशिक्षण तथा कार्यस्थलमा आधारित व्यावसायिक तथा सीप विकास तालिम दिनेछ । समितिले वैदेशिक रोजगारीको गन्तव्य देश र तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरेर प्रशिक्षण दिनेछ । यसै सन्दर्भमा आजको कार्यक्रममा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले गर्ने काम र यसबाट श्रमिकलाई पुग्ने फाइदाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सीप विकास तथा तालिम शाखाका शाखा अधिकृत जीवन कुमार घिमिरेसँगको कुराकानी समावेश छ ।