Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अङ्क ६००

कामको खोजीमा नेपालीहरू विश्वका हर कुनामा पुगे पनि विदेशमा आकस्मिक विपत्ति पर्दा के गर्ने भन्ने गतिलो संयन्त्र नेपाल सरकारसँग छैन । नतिजा, काम गर्दै र खोज्दै विश्वभर छरिएका नेपालीहरू विपत पर्दा सहाराबिहीन हुने गरेका छन् । देशभित्र बैदेशिक रोजगारको मामिला झनै लथालिंग छ । दलाल तथा म्यानपावर कम्पनीको ठगीको फन्दामा परेर कति कामदार गन्तव्यमै नपुगी फर्किन बाध्य हुन्छन् भने कोही एउटा काम भनेर गयो अर्कै काम गर्न विवश बन्छन् । सुरक्षित र मर्यादित रोजगारीसँगै आपत विपदमा परेका श्रमिकलाई छिटो उद्धार गर्ने सरकारको नीति पनि छ । तर विदेशी भूमिमा अप्ठ्यारो परेकै बेलामा सरकारले श्रमिकको उद्धार गर्न सकेको छैन । कार्यक्रम देश परदेशको अंक ६०० मा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई अप्ठ्यारो पर्दा उद्धार गर्ने सरकारको नीति, अहिलेको अवस्था र उद्धार प्रक्रियाको विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा बैदेशिक रोजगार व्यवस्थापन शाखाका प्रमूख डम्बर बहादुर सुनुवारसँगको कुराकानी समावेश छ ।