Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६०३

भनाई छ, मनको पीर कसलाई कह ? स्वदेशमा आफ्नो परिवारलाई छोडेर बैदेशिक रोजगारका लागि गएका श्रमिकलाई यो भनाई निक्कै मिल्छ । बैदेशिक रोजगारमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट उनीहरुका घर र देशको अर्थतन्त्र चलिरहेको तथ्य हाम्रो अगाडि छ । तर, विदेशमा पाखुरी बजार्ने तिनै श्रमिक र उनका परिवारले खेपिरहेको मानसिक समस्याबारे खासै चासो दिइएको पाइदैन । एकातिर नौलो ठाउँ अर्कोतिर परिवारसँगको विछोड श्रमिकलाई मानसिक चिन्ता हुने मुख्य कारण यहि हो । त्यस्तै, यता परिवारलाई विदेश गएका आफ्नो परिवारको सुर्ताले सताउँछ । परदेशी भूमिमा के होला, कहिले भेटिन्छ होला भन्ने जस्ता कुराले पिरोल्छ । कार्यक्रम देश परदेशको अंक ६०३ मा बैदेशिक रोजगारीमा रहेका श्रमिकको परिवारलाई हुने मानसिक समस्या के कस्ता छन् र त्यसको समाधानका लागि भइरहेका कामहरु बारे मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रकी कार्यक्रम संयोजक, मनोविद् स्मृति घिमिरेसँग कुराकानी समावेश छ ।