Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक - ६१३

सन् १८१३ को सुगौली सन्धि पछि सैनिक सेवाका लागि नेपालीहरु विदेश जान शुरु गरेको पाइन्छ । सुरुको समयमा नेपालीहरूको गन्तव्य वर्मा, भारत, भुटान, थाइल्यान्ड तिब्बत र मलेसिया जस्ता देशहरूमा थियो । त्यसबेला भारतको लाहुरमा जाने नेपालीको संख्या धेरै हुन्थ्यो । अहिले पनि कति ठाउँमा बैदेशिक रोजगारीमा जानेलाई लाहुर गएको वा मुगलान पस्ने भन्ने गरेको पाइन्छ । वर्तमान समयमा वैदेशिक रोजगारका शिलशिलामा प्रति वर्ष करिब ५ लाख युवा जनशक्तिहरू मध्य दैनिक करिब १७,०० को हाराहारीमा  त्रिभुवन विमानस्थलबाट श्रम बजारमा प्रवेश गर्ने गरेको तथ्याङ्क छ । त्यस्तै, भारत भएर वैदेशिक रोजगारमा जानेको तथ्याङ्क यकिन गर्न सकिएको छैन । त्यसको समेत गणना गरिने हो भने रोजगारीमा जानेको सङ्ख्या अझ वृद्धि हुनसक्ने देखिन्छ । बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै सुरक्षित बैदेशिक रोजगारीबारे सचेतनाका कार्यक्रमहरु पनि बढेका छन् । तर, पनि बैदेशिक रोजगारीमा जानेहरु ठगीने, गन्तव्य देशमा पुगेर अलपत्र पर्ने र समस्या परिरहेका घटनाहरु आइरहन्छन् । यस किसिमका समस्या न्युन गर्न सुरक्षित आप्रवासन कार्यक्रम सामीले स्थानीय तहमा रहेर काम गरिरहेको छ । यसले बैदेशिक रोजगारीमा जानेलाई सहज बनाएको छ । कार्यक्रम देश परदेशको अंक ६१३ स्थानीय तहबाटै रोजगार सेवा केन्द्रले उपलब्ध गराएको सेवा र यसका फाइदामा केन्द्रित छ । यसबारेमा हामीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा रहेको रोजगार सेवा केन्द्रका संयोजक सन्तोष अधिकारीसँग कुराकानी गरेका छौं । साथै, बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन बैदेशिक रोजगार विभागले गरिरहेका कामबारे बैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीसँग कुराकानी पनि कार्यक्रममा समावेश छ ।