Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६२६

बेरोजगारलाई रोजगार उपलब्ध गराउने अर्थात काम खोज्ने र काम दिनेबीच भेट गराउने उदेश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको जेठ १७ गते देखि जेठ ३० सम्म सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गर्यो । कोशी प्रदेशबाट जेठ १७ गते सुरु भएको यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन भएको थियो । मेला हरेक प्रदेशमा २ दिन चलेको थियो । देशमै आन्तरिक रोजगारी बढाउनु यो मेलाको उद्देश्य हो । साथै, युवालाई देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्य पनि यो मेलाले राखेको थियो । मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी काम गर्नेहरुको जमघट भएको थियो । बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने तयारी स्वरुप सरकारले श्रमाधान रोजगार मेला आयोजना गरेको हो । यसले विभिन्न क्षेत्रमा काम गरिरहेका र काम खोजिरहेकालाई आशावादी बनाएको छ । आजको देश परदेश यसै विषयमा केन्द्रित छ । श्रमाधान रोजगार मेलाले देशभित्रको रोजगारीलाई सुनिश्चित गर्न र वैदेशिक रोजगारीमा जानेलाई कत्तिको सहयोग पुग्यो भन्ने विषयमा उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा तपाईंले लेख्नुभएको विचार, जिज्ञासा र प्रश्नमा आज श्रमाधान रोजगार विज्ञ कमल सुवेदीको जवाफ कार्यक्रम देश परदेशको अंक ६२६ मा समावेश छ ।