Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३०

सामाजिक सुरक्षा कोषबाट सुविधा पाउन वैदेशिक रोजगारीमा गएकाहरूले मासिक रूपमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषले बैदेशिक रोजगारीमा जानेका लागि मात्र हैन स्वदेश फर्किएका र स्वदेशमै स्वरोजगार गरिरहेकालाई पनि समेटेर काम गरिरहेको छ । सामाजिक सुरक्षा कोषमा कर्मचारीको आधारभूत पारिश्रमिकबाट रोजगारदाता कम्पनीले २० र कर्मचारीको तलबबाट ११ प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यसलाई योगदान रकम भनिन्छ । यसरी जम्मा गरेको ३१ प्रतिशत रकम छुट्टाछुट्टै योजनामा बाँडिन्छ । वृद्धावस्था सुरक्षा योजनामा २८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुन्छ । संशोधित व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकममध्ये अवकाश योजनामा ८ दशमलव ३३ प्रतिशत र पेन्सन योजना अन्तर्गत २० प्रतिशत रकम जम्मा हुन्छ । बाँकी रहेकोबाट १ दशमलभ ४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि छुट्याइन्छ । त्यस्तै एक प्रतिशत औषधि–उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा छुट्याइन्छ । बाँकी बचेको सुन्य दशमलव २७ प्रतिशत आश्रित परिवारको सुरक्षा योजनामा छुट्याइन्छ । सामाजिक सुरक्षा कोषका निक्कै फाइदा छन् । कार्यक्रम देश परदेशको अंक ६३० यसैसँग सम्बन्धीत छ । उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा सामाजिक सुरक्षासँग सम्बन्धीत तपाईंले राख्नुभएका जिज्ञासाको जवाफ जोडेका छौं । यसका लागि हामीले सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीसँग कुराकानी गरेका छौं ।