Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३२

नेपाल र जापानबीच सन् २०१९ मा श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यो  समझदारी अनुसार निर्दिष्ट सीप भएका श्रमिक अर्थात स्पेसिफाइड स्किल्ड वर्कर्स ले जापानमा रोजगारीको अवसर पाउँछन् । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार सन् २०१९÷२० मा नेपालबाट ३९ जना श्रमिकहरु जापान गएका थिए । त्यस्तै सन् २०२०÷२१ मा ५५३ र सन् २०२१÷२२ मा २ हजार ४७८ श्रमिकहरु जापान गएको देखिन्छ । जापानमा अहिले करिब एक लाख २० हजार नेपालीहरू बसोबास गर्ने विभिन्न अध्ययनले देखाएको छ । जापानमा भएका नेपालीमध्ये धेरै विद्यार्थी छन् । केहीले व्यवसाय गरेका छन् भने श्रमिकका रूपमा पनि केही रहेका छन् । जापानले सन् २०१९ देखि कार्यावन्वयन गरेको स्पेसिफाइड स्किल्ड वर्कर्स, एसएसडब्लू नीतिअनुसार विदेशी श्रमिकहरुले त्यहाँ १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाइरहेका छन् । कामका लागि जापान जाँदा नेपाली श्रमिकले भोग्नुपर्ने समस्या र चुनौतीहरु के के छन् ? जापानमा कामको अवसर कस्तो छ र यसका लागि नेपाल सरकारको पहल कस्तो छ ? कार्यक्रम देश परदेशको अंक ६३२ यिनै विषयमा केन्द्रित छ । यसका लागि हामीले कायक्रममा डा. श्याम कुमार कार्कीसँग कुराकानी गरेका छौं । उहाँ जापानको सोका विश्वविद्यालयमा सहायक प्राध्यापक हुनुहुन्छ । र, Societas Research Institute, जापानमा अनुसन्धानकर्ता हुनुहुन्छ ।  हाल नेपली श्रमिकबारे अध्यन र अनुसन्धान गरिरहनुभएको छ । साथै कार्यक्रममा बैदेशिक रोजगारीमा जाँदा बीमा अनिवार्य गर्न किन आवश्यक छ भन्नेबारे राष्ट्रिय बीमा प्राधीकरणका सहायक निर्देशक निर्मल अधिकारीसँग कुराकानी पनि समावेश छ ।