Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३३

बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार सीप बिना बैदेशिक रोजगारीमा जाने महिलाको संख्या ५९ प्रतिशत छ । बैदेशिक रोजगारीमा जाँदा पुर्याउनु पर्ने प्रक्रिया, सिक्नुपर्ने सीप र भाषा लगायतमा विषयमा ख्याल नगर्दा अहिले पनि नेपाली श्रमिक कम ज्यालामा काम गर्न बाध्य छन् । कति बैदेशिक रोजगारीमा जाँदाकै क्रममा बेचिएका छन् । कति शोषणमा परेका छन् । यस्तो समस्या हटाउन विभिन्न निकाय र संघ संस्थाले काम गरिरहे पनि अझै पनि बैदेशिक रोजगारीमा जाने श्रमिक जोखिममा रहेको देखिन्छ । बैदेशिक रोजगार विभागले सन् २०२१ मा गरेको अध्ययन अनुसार विभिन्न बहानामा भारतको सिमाना पार हुँदै कामको खोजीमा वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने नागरिकको संख्या ठुलो छ । यसरी अवैधरूपमा विदेशिनेहरुले दिनदिनै दुःख पाइरहेका छन्, अप्ठेरोमा परिरहेका छन्, अङ्गभङ्ग भइरहेका छन् भने कतिले त ज्यान नै गुमाएका छन् । कार्यक्रम देश परदेशको अंक ६३३ वैदेशिक रोजगारीका क्रममा श्रमिकले खेप्नुपरेका समस्याबारे महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) की कार्यकारी निर्देशक बेनु माया गुरुङ्गसँग कुराकानी गरेका छौं । साथै बैदेशिक रोजगारीमा जाने महिलाले भोग्नुपर्ने चुनौतीबारे नेपाल टेड्र युनियन महासंघ (जिफन्ट) की सचिव स्मृति लामासँगको कुराकानी समावेश छ ।