Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३४

हरेक महिना ६० हजार हाराहारीमा युवाहरूले श्रम स्वीकृति लिइरहेका विभागको तथ्याँक छ । विभागको यो तथ्याङ्क हेर्दा काम खोज्दै नेपाली नपुगेको देश शायदै होला । सरकारले वैदेशिक रोजगारीका लागि नयाँ–नयाँ गन्तव्य खोजी रहेको पनि छ । तर पनि नेपालको वैदेशिक रोजगारी खाडीमै निर्भर भएको देखिन्छ । पछिल्लो समय युरोपेली देशमा नेपालीहरुको आकर्षण बढेको छ । बढी पैसा कमाइ हुने आशमा द्वन्द्वग्रस्त देशमा पनि नेपाली पुगेका छन् । वैधानिकसँगै अवैधानिक बाटो हुँदै परदेश पुग्ने नेपालीहरुको संख्या थपिंदैछ । कामको खोजीमा नेपालीहरू विश्वका हर कुनामा पुगे पनि उनीहरूलाई आकस्मिक विपत्ति र अपर्झट पर्दा के गर्ने भन्ने गतिलो संयन्त्र नेपाल सरकारसँग छैन । जसले गर्दा सहज जीवनका लागि काम खोज्दै विश्वभर छरिएका नेपालीहरू विपत पर्दा सहाराबिहीनजस्तै हुने गरेका छन् । नेपालीहरू धेरै भएका कतिपय देशमा सरकारले दूतावास र नियोग खोल्न नसकेका कारण ती देशमा समस्यामा परेका नेपाली कामदारको उद्धार गर्न सरकारले अर्को देशमा भएको नियोगमा निर्भर रहनुपर्ने बाध्यता पनि छ । सुरक्षित र मर्यादित रोजगारीसँगै आपत विपदमा परेका श्रमिकलाई छिटो उद्धार गर्ने सरकारको नीति नै छ । आजको कार्यक्रममा हामी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई अप्ठ्यारो पर्दा उद्धार गर्ने सरकारको नीति, अहिलेको अवस्था र उद्धार प्रक्रियाको विषयमा श्रम आप्रवासन विज्ञ डाक्टर गणेश गुरुङ्गसँग कुराकानी गरेका छौं । साथै देश परदेशको अंक ६३४ मा बैदेशिक रोजगारीमा जाँदा सीप सिकेर जाँदा के फाइदा हुन्छ भन्ने विषयमा तपाईंले राख्नुभएको जिज्ञासाको जवाफ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानकी निर्देशक बिन्दा आचार्यसँग लिएर आएका छौं ।