Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६३५

केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि धेरै नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ । बाध्यतावश चर्को व्याजमा ऋण लिएर विदेश जान चाहेका र जानु परेका युवाहरू वैदेशिक रोजगारी र श्रम स्वीकृतिको प्रक्रिया थाहा नहुँदा ठगिएको र दुःख पाएको पाइन्छ । ठगिएपछि पछुताउनु र समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्था आउनु पहिले नै वैदेशिक रोजगारी र श्रम स्वीकृति बारे सही सूचना र जानकारी थाहा पाएमा समस्यामा कमी आई वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित हुने देखिन्छ । आजको कार्यक्रममा हामी सुरक्षित बैदेशिक रोजगारीको विषयमा कुरा गर्छौं । कार्यक्रमको शुरुमा बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भैरहेको प्रयास र कार्ययोजनाबारे बैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीसँग कुराकानी गरेका छौं । त्यसैगरी, बैदेशिक रोजगारीमा जाँदा अप्नाउनुपर्ने तरिकाहरुबारे बैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालसँगको कुराकानी पनि समावेश छ । कार्यक्रममा हामीले सुरक्षित बैदेशिक रोजगारीको अर्को पाटो बचतको विषयमा पनि कुराकानी गरेका छौं । वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन भइरहेका कामहरुबारे डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालसँगको कुराकानी कार्यकम देश परदेशको अंक ६३५ मा समावेश छ  ।