Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

374_Desh Paradesh 2019-08-27

कार्यक्रम देश परदेशको ३७४ औं अंक आजको देश परदेश कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गरी रोजगारी सिर्जना गरिरहेका युवा उद्यमी र उनीहरुले सञ्चालन गरेको व्यवसायमा केन्द्रित छ । 
यूएईमा फाइनान्स हेडको रुपमा काम गरेर अहिले स्वदेशमै पोल्ट्री व्यवसाय गरिरहनुभएका बाराका नवराज पौड्यालको संघर्षको कथा कार्यक्रममा सुन्न सकिन्छ । कोरियामा करिब पाँच वर्ष काम गरेर फर्केका र धनगढीमा गार्मेन्ट उद्योग सञ्चालन गरिरहनुभएका धनगढीका त्रिलोक पनेरुसंगको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै नेपाल प्रहरीको जागिर छाडेर सेक्युरिटी गार्डमा कतार जानुभएका झापा अर्जुनधाराका कमल सिग्देल अहिले आफ्नै गाउँमा करेसाबारीको कोशेली व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । कमल सिग्देलसँगको रमाइलो कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ ।
साथै दिदीबहिनीका कुरामा आज हामीसित झापाकी भुलमाया तामाङ हुनुहुन्छ । श्रीमानले कान्छी श्रीमती ल्याएपछि परिवार पाल्न कुवेत पुग्नुभएकी माया अहिले आफ्नै गाउँमा गलैँचा बुन्ने काम गर्नुहुन्छ । उहाँका सुखदुखका गाथा पनि कार्यक्रममा सुनाउनेछौँ ।
साथमा छन् तपाईँले राखेका जिज्ञासामा हामीले खोजेका उत्तरहरु र हप्ताभरीका वैदेशिक रोजगारी सम्बन्धि गतिविधि र राउण्डअप पनि ।