Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक_६६६

कोभिड–१९ को महामारीले अर्थतन्त्रलाई अप्ठ्यारोमा पारेको र हजारौं मानिसहरूलाई बेरोजगार बनायो । कोभिड पछि बैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या बढेको छ । अहिले बढ्दो राजनीतिक अस्थिरता र सुस्त आर्थिक दृष्टिकोणको बीचमा, नेपालले चालू आर्थिक वर्षमा विदेश यात्रा गर्ने आप्रवासी कामदारहरूको संख्या बढिरहेको पनि बैदेशिक रोजगार बोर्ड र विभागको तथ्याङ्कले देखाउँछ । यसमा पनि अहिले बैदेशिक रोजगारीमा जाने महिला श्रमिकको संख्या बढिरहेको छ । घरको आर्थिक भार थेग्नका लागि प्राय महिला सीप नसिकिकनै र पूर्ण सूचना नलिइकनै कामका लागि बिदेश जाने गरेका छन् । यसमा पनि भारत हुँदै बैदेशिक रोजगारीमा जाने र रोजगारीका लागि भारत जानेको तथ्याङ्क पाउन कठिन छ । त्यसैले पनि पुरुषको तुलनामा बैदेशिक रोजगारीमा रहेका महिलाले भोग्ने चुनौती र अप्ठ्याराहरु धेरै छन् । कार्यक्रम देश परदेशको अंक ६६६ मा हामीले बैदेशिक रोजगारीमा रहेका महिला, राज्यको निति र उनीहरुको चुनौतीबारे  आप्रवासनविद् डाक्टर मीना पौडेलसँग कुराकानी गरेका छौं ।