Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

445_Desh Paradesh 2021-01-05

कार्यक्रम देश परदेशको ४४५ औं अंक कोरोना भाइरसको एउटा अवतार अन्त नहुँदै अर्को अवतार फैलिदा वैदेशिक रोजगारीमा यसले के असर पुर्याउन सक्छ भन्ने विषयमा केन्द्रित छ । कोरोनाको नयाँ भाइरसका कारण कतिपय देशले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । कतै उच्च स्वास्थ्य सावधानी अपनाएका छन् । यसले श्रमिकमा के कस्ता असर परेको छ भन्ने विषयमा श्रमिकका प्रतिक्रियाहरु कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै कोरोनाको नयाँ लहरले भर्खरै तङ्ग्रन लागेको वैदेशिक रोजगारीमा पारेको असरबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङसँगको कुराकानीलाई पनि कार्यक्रममा समेटेका छौं । कोरोना भाइरसको नयाँ लहरले नेपालीको रोजगारी र देशको अर्थतन्त्रलाई कस्तो असर गर्ला त ? इक्वीडेम रिसर्चका कार्यकारी निर्देशक तथा अनुसन्धानकर्ता रामेश्वर नेपालको विचार पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ ।
साथमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि नेपालीको श्रम गन्तव्य देश खाडी र मलेसियाको पछिल्लो जानकारी र हप्ताभरीका रोजगार गतिविधि पनि सुन्न सक्नुहुन्छ ।