खेलौना हैन ड्रोन : उडाउन सजिलो र रमाइलो, बिग्रेपछि बनाउन गाह्रो

 चैत २०, २०८० मंगलबार १३:२९:३ | क्षितिज शेर्पा
unn.prixa.net

अहिले नेपालमा दुई प्रकारका ड्रोन पाइन्छ । चिनियाँ ड्रोनले नेपालको बजारको ८० प्रतिशत ओगटेको छ भने बाँकी २० प्रतिशत अमेरिकाबाट आउँछ । यी ड्रोन मुख्यरूपमा फोटो, भिडियो खिच्न र अध्ययन/अनुसन्धान गर्न प्रयोग गरिन्छ । तर अनुसन्धानमा प्रयोग अझै कम छ । नेपाली बजारमा ड्रोनको मूल्य एक लाख ५० हजार रुपैयाँदेखि शुरु हुन्छ । अनुसन्धानमा प्रयोग हुने ड्रोन महँगा हुन्छन्, यस्ता ड्राेनकाे मूल्य १२ लाख रुपैयाँदेखि शुरु हुन्छ । ड्रोन जति धेरै विशेष, आधुनिक र गुणस्तरीय हुन्छ, उति नै महँगाे पर्छ ।

ड्रोन उडाउने अनुमति प्राप्त गर्न भने लामो प्रक्रिया छ । स्थानको आधारमा विभिन्न निकायबाट स्वीकृति चाहिन्छ । जस्तै कुनै पनि ठाउँमा अनुसन्धान तथा अध्ययनका लागि ड्रोन उडाउन रक्षा मन्त्रालयको अनुमति लिनुपर्छ । कुनै सांस्कृतिक महत्त्व बोकेको ठाउँमा उडाउन रक्षा मन्त्रालयसँगै पुरातत्त्व विभाग, सम्बन्धित पालिका र वडा कार्यालयको अनुमति चाहिन्छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमाथि उडाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रक्षा मन्त्रालय, सम्बन्धित पालिका र वडा कार्यालयको स्वीकृति लिनुपर्छ । त्यसपछि सम्बन्धित ठाउँको प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराउनुपर्छ ।

सबैतिरबाट स्वीकृत भएपछि एक जना पालिका वा वडा कार्यालयको कर्मचारीलाई आफूसँगै राख्नुपर्छ । यसका लागि १५ देखि २० दिनको लामो प्रक्रिया लाग्न सक्छ । त्यसपछि मात्रै ड्रोन उडाउन पाइन्छ । कहिलेकाहीँ कुनै कार्यालयबाट प्रतिक्रिया नआउन पनि सक्छ । यो सबै प्रक्रियाका लागि कम्तीमा झन्डै ४० हजार रुपैयाँ खर्च हुन सक्छ । तर मनोरञ्जन तथा चलचित्र छायाङ्कनका लगि भने अनुमति आवश्यक छैन । ड्रोन उडाउन पनि सजिलो छ । तर शुरुमा आफ्नो ड्रोनसँग परिचित हुन आवश्यक पर्छ । त्यसका लागि ड्रोनसँग आएको निर्देशन पुस्तिका पढ्नुपर्छ । यसले ड्रोनको मोडेल, यसको नियन्त्रण, विशेषता र सुविधाबारे परिचित गराउँछ । धेरैजसो ड्रोनमा उचाइ र दिशा नियन्त्रण गर्न दुई ‘जोइस्टिक’ प्रयोग हुन्छ । जसले अगाडि, पछाडि, बायाँ र दायाँ चाल नियन्त्रण गर्दछ । राम्रो नियन्त्रण विकास गर्न केही अभ्यास गर्नुपर्छ ।

‘म्यानुअल’ आफैँ चलाउन मिल्ने र जीपीएस अर्थात् ‘ग्लोबल पोजिसनिङ सिस्टम’ गरी दुई वटा सुविधा हुन्छन् । म्यानुअलमा ड्रोनलाई पाइलट अथवा चलाउने मान्छे आफैँले नियन्त्रण गर्नुपर्छ । यसमा निर्देशनदेखि दिशा सबै कुरामा पाइलटकै भर हुन्छ । जीपीएसमा पाइलटले थोरै निर्देशन दिए मात्र पुग्छ । यसमा पृथ्वीको परिक्रमा गर्ने उपग्रहको नेटवर्क प्रयोग हुन्छ । ड्रोनको जीपीएस रिसिभरले यसको सटिक स्थान (अक्षांश, देशान्तर, र उचाइ) निर्धारण गर्न यी उपग्रबाट सङ्केत लिन्छ ।

यसमा ड्रोनले निर्देशन गरिएको वा तोकिएको उडान क्षेत्रभित्र यसको स्थिति कायम राख्नका लागि जीपीएस निर्देशनको प्रयोग गर्छ । यसले ड्रोनलाई सम्पर्क बाहिर गएमा वा ब्याट्रीको स्तर कम हुँदा सिग्नल हराएमा स्वचालितरूपमा उडान शुरुको विन्दुमा फर्किन सघाउँछ । यो एक सुरक्षा सुविधा हो जसले ड्रोन हराउनबाट रोक्न मद्दत गर्न सक्छ । जीपीएस मोडमा ड्रोन आफैँ जमिनबाट उड्न, पूर्व निर्धारित उचाइमा जान, तोकिएको स्थानमा नियन्त्रित अवतरण गर्न सक्छ ।

सबै ड्रोनमा जीपीएस हुन्छ । अध्ययन अनुसन्धानका लागि सही तरिकाले ड्रोन उडाउन जीपीएस मोडको प्रयोग गर्दा राम्रो हुन्छ । तर व्यक्तिगत प्रयोगका लागि वा खराब मौसम भएको बेला म्यानुअल मोड उपयोगी हुन्छ ।

ड्रोन उड्न सक्ने अधिकतम उचाइ ड्रोनको आकार, ब्याट्रीको शक्ति र मोटरको शक्तिमा निर्भर गर्दछ । कानुनी प्रतिबन्धका आधारमा सामान्य ड्रोन एक सय ५० मिटर माथिसम्म उडाउन मिल्छ । तर ड्रोन पाँच सय मिटरभन्दा माथिको उचाइसम्म पनि पुग्न सक्छ ।

यस्तै नेपालमा पाइने केही ड्रोन आठ किलाेमिटरदेखि २९ किलोमिटर परबाट नियन्त्रण गर्न सकिन्छ । तर मौसम अवस्था जस्तै हावा, वर्षा र हिउँ, ड्रोनको तौलले पनि ड्रोनको दायरा घटाउन सक्छ । त्यस्तै ब्याट्रीको क्षमता र गुणस्तरले पनि दायरालाई बढाउँदै लान्छ । तर टेलिफोनको, रेडियोको टावरबाट निस्किने वा अन्य कुनै तरङ्ग भने अवरोध गर्छ । धेरैजसाे ड्रोन १८ देखि ४५ मिनेटको छोटो अवधिका लागि उडाउने गरिन्छ । यसको गति २६ किलोमिटरदेखि ४६ किलोमिटर पुग्न सक्छ ।

ड्रोन उडाउन जति सजिलो र रमाइलो छ, बिग्रेपछि बनाउन पनि त्यति नै गाह्रो छ । नेपालमा ड्रोन दुर्घटना हुनुमा पाइलटको लापर्बाही मुख्य कारण हो । धेरैले कुनै अभ्यास वा तालिम नलिई ड्रोन उडाउँछन् । कोहीले ब्याट्री नसकिँदासम्म उडाउन छोड्दैनन् । ब्याट्रीको तापक्रम जति बढ्दै जान्छ, ड्रोनको क्षमता पनि घट्दै जान्छ । ड्रोनको ब्याट्री २० प्रतिशतभन्दा कम हुनु हुँदैन । यसले पछि ब्याट्रीको क्षमता पनि घटाउँछ । ब्याट्रीलाई पूरै चार्ज गर्नाले पनि क्षति हुन सक्छ । यसले ब्याट्री फुल्लिन सक्छ । ब्याट्रीको चार्ज ५० देखि ८० प्रतिशतको बीचमा राख्नुपर्छ । ड्रोनको बारेमा अनुचित ज्ञानले मर्मत गर्न गाह्रो बनाउँछ । बिग्रेको ड्रोन बनाउनु रेडियो टेलिभिजन बनाएजस्तो हुँदैन । रातो कालो तार जोडेरमात्रै ड्रोन बन्दैन ।

ड्रोनमा जटिल प्रविधि समावेश हुन्छन् । प्रायः उडान नियन्त्रक, जीपीएस, क्यामेरा र तारसँगै जोडिएका हुन्छन् । ड्रोनमा विभिन्न सेन्सर हुन्छन् जसले उडान नियन्त्रकलाई तथ्याङ्क पढाउँछ । कम्प्युटरको भाषा अर्थात् 'कोडिङ' को माध्यमबाट मात्रै धेरै समस्या थाहा पाउन सकिन्छ । कुन भाग खराब छ भनेर पत्ता लगाउन र यसलाई सावधानीपूर्वक प्रतिस्थापन गर्न विशिष्ट प्रणालीको ज्ञान चाहिन्छ ।

अझै पनि नेपालमा ड्रोनका पाटपुर्जा सजिलै उपलब्ध छैनन् । ड्रोन बनाउने दक्ष जनशक्ति नहुँदा कि हङकङ कि भारत पठाउनुपर्छ । तर त्यसरी पठाउँदा मर्मत खर्चबाहेक लैजान र ल्याउनमात्रै झन्डै १८ हजार रुपैयाँ जति खर्च लाग्छ ।

मर्मत चुनौतीका बाबजुद ड्रोनले अपार सम्भावना दिएको छ । विशेषगरी नेपालको पहाडी क्षेत्रमा जमिनबाट पुग्न गाह्रो छ । ड्रोनले दुर्गम गाउँ र समुदायमा छिटो र कुशलतापूर्वक औषधि आपूर्ति, खाना र अरू आवश्यक सामान पुर्‍याउन सक्छ । भूकम्प वा बाढीजस्ता प्राकृतिक प्रकोपपछि उद्धार अभियानका लागि ड्राेन प्रयोग गर्न सकिन्छ । क्यामेरा र सेन्सरले सुसज्जित ड्रोनले विस्तृत नक्सा, पूर्वाधार र बालीको सर्वेक्षण गर्न सहयोग पुर्‍याउँछ । यो जानकारी शहरी योजना, विपद् जोखिम न्यूनीकरण र कृषि उपज अनुगमनजस्ता कार्यका लागि महत्त्वपूर्ण हुन्छ ।

ड्रोनको प्रयोगबाट नेपालको जैविक विविधताको प्रभावकारीरूपमा अनुगमन गर्न सकिन्छ । वन्यजन्तुको सङ्ख्या, वन विनाशका कारण पहिचान गर्न सकिन्छ । प्रारम्भिकरूपमा जङ्गलमा लाग्ने डढेलोको जोखिमलाई पत्ता लगाउन पनि सहयोगी हुन सक्छ । ड्रोनको प्रयोगबाट सजिलो, चाँडो, सस्तो, सुरक्षित र सही तथ्याङ्क पाउन सकिन्छ ।

ड्रोनको सही तरिकाले उपयोग गर्न सकियो भने यसका फाइदा धेरै छन् । तर नेपालमा धेरैले ड्रोनको प्राविधिक पाटो नबुझी यसलाई खेलौनाको रूपमामात्रै हेर्ने गरेका छन् । 

(ड्रोन सेवा प्रालिका इन्जिनियर क्षितिज शेर्पासँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८१

क्षितिज शेर्पा

ड्रोन सेवा प्रालिका इञ्जिनियर हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया