उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न
चैत २२, २०८१ शुक्रबार
काठमाण्डौ भित्रिने मुख्य नाका नौबीसे–नागढुङ्गा सडक बन्द हुँदा तीन वटा वैकल्पिक मार्ग छन्– धार्के–सीतापाइला, गल्छी छहरे टोखा र गल्छी–विदुर हुँदै बालाजु निस्कने सडक ।
असोज महिनामा आएको बाढी र पहिरोले नागढुङ्गा सडक बन्द हुँदा साना गाडी यही सडक हुँदै ओहोरदोहोर गरे । अहिले पनि धार्के सीतापाइला र गल्छी–छहरे–टोखा मार्ग बढी प्रयोगमा छन् ।
धादिङ गजुरीका आशिष भुषाललाई पहिले काठमाण्डौ–धादिङ यात्रा भन्नासाथ नागढुङ्गाको जाम, धुलोको मुस्लो, ठूला खाल्डाखुल्डी र जोखिमपूर्ण यात्राको याद आउँथ्यो । मोटरसाइकलमा यात्रा गर्दा घण्टौं जाममा अल्झिनु, राजमार्गमा तीव्र गतिमा गुड्ने गाडीहरूको डर अनि पहिरोको जोखिमले यात्रा झन् कष्टकर बनाउँथ्यो । तर अहिले आशिषको यात्रा अनुभव फेरिएको छ । एक वर्षदेखि उहाँ नागढुङ्गा होइन, धार्के–सीतापाइला मार्ग हुँदै धादिङ गजुरी पुग्नुहुन्छ ।
‘पहिले यात्रामा निकै सास्ती भोग्नु पर्थ्याे तर अहिले धार्के–सीतापाइला बाटो हुँदै जाँदा यात्रामा आनन्द आउँछ’, आशिषले उत्साहित हुँदै भन्नुभयो, ‘नागढुङ्गामा जाममा फस्नुभन्दा, यो बाटो हिँड्दा यात्रा छिटो, सहज र सुरक्षित लाग्छ । समयको बचत मात्र होइन, शरीरलाई पनि हल्का र आनन्द हुन्छ ।’
यो सडक सीतापाइला–रामकोट–भीमढुङ्गा–ठूलोखोला–महेशफाँट हुँदै धार्केसम्म पुग्छ । सीतापाइला–धार्के २४ किलोमिटर सडक असोजको भारी वर्षाले केही ठाउँमा भत्किएको छ । दुई भागमा बाँडिएको यो सडकको धार्के–ठूलोखोला खण्ड झन्डै १३ किलोमिटर लामो छ जसको केही भाग मात्र बिग्रिएको छ ।
यस खण्डलाई वर्षाअघि कालोपत्र गर्ने योजना बनाइएको छ । ठूलोखोला–काठमाण्डौ जोड्ने सडक खण्डको ५ सय ७५ मिटर भाग निर्माणाधीन छ । चैतभित्रै कालोपत्र गर्ने लक्ष्य राखिए पनि बजेट अभावका कारण काम अल्झिएको छ । कतै भित्ताहरू कमजोर बनेका छन्, त कतै सडक नै चर्किएको छ । वर्षा अगाडि मर्मत गरिएन भने अहिले साना गाडीहरू सञ्चालन भए पनि पानी परेपछि बाटो भासिने जोखिम उच्च छ ।
सडक डिभिजन काठमाण्डौअन्तर्गत ठूलोखोला–सीतापाइला खण्डका इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार सडक मर्मतका लागि ६ करोड रुपैयाँ आवश्यक छ तर अहिलेसम्म बजेट सुनिश्चित भइसकेको छैन ।
अहिले यो बाटोबाट मुख्यतः साना तथा निजी गाडीहरू ओहोरदोहोर गरिरहेका छन् । दुईतर्फी नै गाडी चल्न सक्ने अवस्था भए पनि कतिपय ठाउँमा यात्रुहरूले जोखिम उठाउनुपर्ने स्थिति छ । यदि समयमै उचित ध्यान दिइएन भने यो उपयुक्त विकल्पको सम्भावना जोखिममा पर्न सक्छ ।
गल्छी–विदुर हुँदै बालाजु निस्कने सडक अप्ठेरो
काठमाण्डौ छिर्ने अर्को वैकल्पिक मार्ग गल्छी–नुवाकोट विदुर हुँदै बालाजु जोडिन्छ । झन्डै ७३ किलोमिटर लामो यो सडकको गल्छीदेखि विदुरसम्मको सडक केही सहज भए पनि विदुरदेखि बालाजुसम्मको यात्रा असहज छ ।
पासाङ ल्हामु राजमार्गअन्तर्गत पर्ने पिपलटारदेखि रानीपौवासम्मको ३२ किलोमिटर सडक ठेक्का तोडिएपछि पूर्णरूपमा अलपत्र परेको छ । निर्माण नहुँदा यो बाटोमा चल्ने गाडी र यात्रुले हिउँदमा धुलोले कष्ट भोग्छन् नै, पानी परेपछि हिलोमा फसेर चल्नै नसकिने अवस्था आउँछ । स्थानीयवासी दिनहुँ सास्ती खेप्न बाध्य छन् तर जिम्मेवार निकायहरू भने चुपचाप बसेका छन् ।
तीनपिप्ले–मुड्खु खण्डमा कालोपत्र, नाली, ह्युमपाइप कल्भर्ट, स्याब कल्भर्टजस्ता संरचनाका काम सकिएको भनिए पनि यो पनि आधा अधुरो छ । केही ठाउँमा पर्खाल नबन्दा बाटो भत्किने खतरा दिनहुँ बढ्दै गएको छ ।
रानीपौवादेखि तीनपिप्लेसम्मको १४ किलोमिटर सडकमा पनि उस्तै कष्ट भोग्नुपर्ने अवस्था छ । स्थानीयवासी दिनहुँ जोखिम मोलेर यात्रा गरिरहेका छन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ भन्नुहुन्छ, ‘हामीले धेरै पटक सरोकारवाला निकायलाई दबाव दिएका छौँ तर उनीहरू कानमा तेल हालेर बसेका छन् ।’
सडक निर्माण अलपत्र परेपछि यहाँका बासिन्दा सरकार र सरोकारवाला निकायहरूको बाटो हेरेर बस्न बाध्य भएका छन् । यदि यो सडक समयमै बनेको भए नुवाकोट, रसुवा र आसपासका जिल्लाका बासिन्दाले सहज यात्रा गर्न पाउने थिए । साथै काठमाण्डौ छिर्ने अर्को भरपर्दो वैकल्पिक मार्ग तयार हुने थियो । तर अहिले त यो बाटो यात्रुहरूका लागि ‘सडक’ भन्दा पनि ‘सजाय’ जस्तै बनेको छ ।
बालाजु–ढिकुरे–गल्छी सडक
काठमाण्डौ प्रवेश गर्ने अर्को महत्त्वपूर्ण वैकल्पिक मार्ग हो बालाजु–ढिकुरे–गल्छी सडक । नयाँ बसपार्कबाट झोर हुँदै नुवाकोटको ढिकुरे–पिपलटार पार गरेर पृथ्वी राजमार्गको गल्छीसम्म पुग्ने यो सडक झन्डै ७१ किलोमिटर लामो छ ।
नागढुङ्गाको सडकमा जाम परेपछि वा बन्द हुँदा पश्चिमबाट काठमाण्डौ आउने साना गाडीका लागि यो मार्ग वरदान झैँ बनेको छ । यहाँ न कुनै ठूलै अवरोध छ, न त नियमित यात्रा गर्ने यात्रुले कठिनाइको सामना गर्नुपर्छ ।
वर्षायाममा धेरैजसो सडक क्षति हुने, पहिरोले अवरुद्ध हुने वा हिलो र खाल्डाखुल्डीले यात्रा कष्टकर बनाउने समस्या अन्य ठाउँमा देखिए पनि यो बाटो भने अविरल वर्षा भए पनि सुरक्षित र सुगम रहने इन्जिनियर सुनित केसीको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘यो बाटो वर्षामा पानी परे पनि सहजै यात्रा गर्न सकिन्छ । यहाँको बाटो अरू मुख्य राजमार्गभन्दा राम्रो अवस्थामा छ ।’ तर ठूला गाडीका लागि भने यो सडक सहज छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।