कूचबिहारको आनौठो चलन : जसले बढी मूल्य लगाउँँछ, उसैले लैजान्छ माछा

 मंसिर १, २०७५ शनिबार १६:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपालको मेची नदीबाट झण्डै २ सय किलोमिटरको दूरीमा रहेको भारतको पश्चिम बंगाल राज्यको एक जिल्ला हो कूचबिहार ।

यहाँ अधिकांशको आय–आर्जन न्यून रहेको छ । कतिपय व्यक्तिहरु त्यहाँबाट नेपालका इटाभट्टामा काम गर्नको लागि परिवारसहित आउने गरेका छन् भने कतिपय यही कूचबिहारमा कृषि पेशालाई अंगालेर बसेका छन् ।

कोही माछा व्यापार गर्छन्, केही आफूले उब्जाएको तरकारी तथा फलफूल ल्याएर अक्सन बजारमा बेच्छन् । यहाँ तरकारी तथा फलफूलको भन्दा बढी माछाको कारोबार हुन्छ ।

अक्सन बजार डाँक बढाबढ (मोलमोलाई)को आधारमा हरेक दिन माछाको कारोबार हुने बजार हो । व्यापारी तथा किसानहरु प्रत्येक दिन बिहानै भेला हुने र आफूले उत्पादन गरेको माछा ल्याएर बेच्ने ठाउँ हो अक्सन बजार ।

त्यसरी ल्याएका माछा विभिन्न आकारमा फरक–फरक तरिकाले ल्याइन्छ  । यहाँ ल्याइएको माछा बजार समितिको निर्णयको आधारमा डाँक बढाबढ (मोलमोलाई) हुने र जसले बढी मूल्य माछामा लगाउँँछ, उसैले त्यो माछा लैजाने परम्परा छ । किसानलाई फाइदा पुग्ने गरी माछाको मूल्य निर्धारण गरेर अक्सन बजारमा माछाको कारोबार हुँदै आएको छ ।

डाँक बढाबढको माध्यमबाट जुन व्यक्तिले माछा खरिद गर्छ, त्यसैको आधारमा २/३ पटक उसले बोलेपछि फाइनल हुने र उसैले सबै माछा उठाएर लैजाने परम्परा रहेको स्थानीय माछा किसान कृष्ण मातुरले बताउनुभयो ।

भारतको कूचबिहार जिल्लाको सात माइल भन्ने स्थानमा हुने यो घटना क्रमले सबैलाई अचम्मित बनाउँछ । यसरी बढाबढ (मोलमोलाई) गरेर बिक्री भएको रकम मध्यबाट एक सय रुपैयाँमध्ये २० रुपैयाँ बजारमा दिनु पर्ने र बाँकी ८० रुपैयाँ किसानले नै पाउने उहाँको भनाई छ ।

यो बजारमा बेच्नको लागि ल्याइएको माछाको बोल–कबोल गर्नको लागि कसैलाई रोक लगाईँदैन । जो आउँछ, जसलाई आवश्यक छ, उसैले बोल्न पाउने व्यवस्थाले किसानले केही भए पनि यो बजारबाट राहत पाउने गरेको किसानलाई प्रविधिमा सहयोग गर्दै आएको सतिस क्लबका सचिव अमल रोयले जानकारी दिनुभयो ।

यसरी माछा बिक्री गर्नको लागि यो बजारमा १० किलोमिटर टाढाबाट समेत आउने गरेको उहाँले बताउनुभयो । यसरी बिक्रीमा ल्याइएको माछा झण्डै २ घण्टाको बीचमा सकिने गर्छ अनि किसानले पनि भनेको जस्तो मूल्य पाउने गरेको उहाँको भनाई छ  ।

बोल–कबोल तथा मोलमोलाईबाट किनिएको माछा नै खुद्रा रुपमा जाने गरेको  छ ।  होलसेल बजारमा किसानहरुले ल्याएको माछामध्ये एकै दिनमा झण्डै ४ हजार किलो माछाको बोल–कबोल तथा मोलमोलाई हुने गर्छ ।

कूचबिहार सातमाइलका किसानले कृषिमा गरेको प्रगतिको बारेमा जानकारी लिन गएको नेपाली कृषि टोलीका विज्ञ राजेन्द्र उप्रेतीले यसरी डाँक बढाबढ (मोलमोलाई)को आधारमा हुने कारोबारले बिचौलियालाई भन्दा किसानलाई फाइदा पुग्ने गरेको पाइएको बताउनुभयो ।

किसानले घटेरभन्दा पनि डाँक बढाबढ (मोलमोलाई) को आधारमा बढेर रकम पाउने भएकोले किसानहरु माछा पालनमा आकर्षित भएको पाइएको उहाँको अनुभव छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया