बालीनालीमा क्षति घटाउन र उत्पादन बढाउन कृषि सूचना उपयोगी

 जेठ २, २०८१ बुधबार ८:१३:१ | डाक्टर कालिकाप्रसाद उपाध्याय
unn.prixa.net

हुन त, अर्को हप्ता या आउँदो १५ दिनपछि पानी पर्ने/नपर्ने अहिले नै पूर्वानुमान गर्न गाह्रो छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी तीन दिनको मौसमी अवस्थालाई पूर्वानुमान गर्दै आएको छ । तर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट हरेक हप्ता शुक्रवार साप्ताहिक कृषि–मौसम सल्लाह बुलेटिन आउने गर्छ । जुन किसानका लागि फाइदाजनक छ । मौसमको प्रतिकूल अवस्था, जलवायु परिवर्तनबाट देखिएका चुनौती र किसानले अपनाउनुपर्ने सावधानीका लागि यो बुलेटिन प्रभावकारी बन्दै गएको छ ।

के हो कृषि–मौसम सल्लाह बुलेटिन ? 

वातावरणमा रहेका बोटबिरुवा, पशुपन्छीको जीवन नै अन्नपानीसँग सम्बन्धित हुन्छ । वातावरणमा हावा, पानी, तातो, चिसो सबै कुरा हुन्छ । कुनै पनि प्राणी, वनस्पती, जीवजन्तुलगायत वातावरणमा बाँच्नका लागि जल, माटो, आहाराजस्ता कुरामा निर्भर रहन्छन् । त्यसैले मौसमी जानकारी खेतीबालीसँगै प्राणी, वनस्पतीलगायतको उत्पादन, संरक्षण, प्रवर्धनका लागि अत्यन्तै महत्वपूर्ण र अपरिहार्य नै हुन्छ । विगतमा हामीले कृषि–मौसमी सल्लाह बुलेटिनलाई नजर अन्दाज गर्‍यौँ । त्यही कारणले कृषि र सम्बन्धित क्षेत्रमा धेरै ठूलो क्षति भएका घटना पनि ब्यहोरेका छौँ ।

अहिले केही भए पनि मौसमी जानकारी लिनुपर्ने चेतना बढेको छ । किसानमा पनि मौसमी, कृषि सम्बन्धी जानकारी लिनु पर्ने रहेछ भन्ने सोच आएको छ । हुन त सामान्य प्राविधिक कुरा जहाँ पनि कृषिका प्राविधिकसँग लिन सकिन्छ । तर मौसमसँगै कृषि र पशुपालनका प्राविधिक कुरालाई जोडेर लिने सरसल्लाह र सूचना सबै ठाउँमा पाउन कठिन छ । अहिले हरेक हप्ता नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले विभिन्न माध्ममबाट त्यस्ता मौसमी सूचना किसानमाझ पुर्‍याउँदै आएको छ । जुन जल तथा मौसम विज्ञान विभागसँग मिलेर नार्कको कृषि वातावरण अनुसन्धान केन्द्रले तयार पारेको हुन्छ । यसमा मौसमसहित, नयाँ जात, बाली तथा पशुचौपायामा देखिन सक्ने रोगकिरा, खेती अभ्यास जस्ता अरू आवश्यक जानकारी पनि समेटिएको हुन्छ ।

कृषि मौसमी सल्लाह बुलेटिनले क्षतिबाट जोगाउन सक्छ 

जब किसानलाई भोलिको कुरा आज थाहा हुन्छ, त्यसपछि भोलिको अप्ठ्यारा, भवितब्य, वातावरणीय प्रभाव, जलवायुको प्रभावबारे आजै सचेत हुन्छ । हामीले वैशाख तेस्रो हप्ता पानी पर्छ भनेका थियाैँ । त्यसै अनुसार पानी पर्‍याे । बुलेटिनमा पाक्न लागेका बाली भए छिटो थन्काउन, तयार हुन लागेको बालीलाई अलि दिन पर्खिन भन्ने गरेका सूचना किसानले बेलैमा पाए ठूलो क्षतिबाट जोेगिन सकिन्छ । त्यसैले क्षति कम गर्ने मात्रै होइन उत्पादन बढाउनका लागि पनि कृषि मौसम सूचनाको महत्व अत्यन्त धेरै छ ।

कृषि मौसमी सल्लाह बुलेटिन २०७२ सालमा बाँकेबाट शुरु 

कृषि मौसमी सल्लाह बुलेटिनको शुरुवात नेपालमा २०७२ साल असारदेखि भएको हो । कृषि मौसमी सल्लाह बुलेटिन बनाउने काममा म आफैं पनि संलग्न थिए । एक हप्ताको मौसमी पूर्वानुमानअनुसार पाक्न लागेका बाली कुन छन्, लगाउनु पर्ने बाली कुन-कुन छन्, पशुचौपायाको अवस्था के छ ? भन्ने कुरालाई विश्लेषण गरेर किसानलाई सचेत गराउन सूचना दिन शुरु गर्‍यौँ । त्यति मात्रै नभएर अहिले मौसम, वातावरण, समय, बालीको अवस्थाअनुसार त्यो बालीमा लाग्ने रोग, किरा र व्यवस्थापनका बिधि के–के हुन्छन् लगायतलाई समेटेर छोटकरीमा प्याकेजकै रुपमा दिने गरेका छौं । ती सूचनालाई विभिन्न सञ्चारका माध्यामबाट प्रकाशन/प्रशारण पनि गर्ने गरेका छौं । शुरुवातमा हामीले बाँके जिल्लाबाट शुरु गरेका हौँ । अहिले ७७ वटै जिल्ला त्यसमा पनि सात सय ५३ वटै पालिकामा यो बुलेटिन पुग्ने गरेको छ ।

साप्ताहिक कृषि मौसमी सल्लाह बुलेटिन हरेक हप्ता शुक्रवार तयार हुन्छ र शनिवारदेखि रेडियो, टेलिभिजन, पत्रपत्रिका, फेसबुक, यूट्युवलगायतका माध्यमबाट प्रकाशन र प्रशारण गर्दै आएका छौं । अहिले तीन तहको सरकारमध्ये किसानसँग प्रत्यक्ष जोडिएको सरकार पालिका हो । पालिकामा रहेका प्राविधिकलाई पनि हामी जोडिरहेका छौं । साप्ताहिक कृषि मौसमी सल्लाह बुलेटिन सात सय ५३ वटै पालिकामा इमेलमार्फत् पठाउने व्यवस्था गरिएको छ ।

सबै पालिकालाई व्यवसायिक किसानको नाम र सम्पर्क नम्बर पठाउन आग्रह 

सबै पालिकालाई हामीले कम्तिमा सयवटा व्यवसायिक किसानको नाम र सम्पर्क नम्बर सहितको विवरण पठाइदिनुस् भनेका छौं । यसको उदेश्य हरेक हप्ता मौसमी अलर्टका सूचना, बाली विशेष, वस्तु विशेष, पशुपन्छी विशेष, प्रविधिका कुरालगायत एसएमएसमार्फत पठाउनु हो । अहिले हामीसँग आठ हजार मोबाइल नम्बर इन्ट्री भएका छन् । ती मोबाइल नम्बरमा हरेक हप्ताका मुख्य-मुख्य सूचना पनि प्रवाह गरिरहेका छौं । 

हामीले किसानको मोबाइल नम्बरमा पठाएको सूचना आठ हजार किसानले नियमित हेर्नु हुन्छ । उहाँहरुले हिमाल, पहाड, तराईलाई छुट्टा–छुट्टै गरेर दिए हामीलाई चाहिने सूचना हेर्न सजिलो हुन्थयो भनेर पनि सुझाव दिनुभएको छ । पालिका नै किसानसँग नजिक हुने भएकाले उनीहरुले किसानलाई प्रेरित गरेर यसमा जोड्नु आवश्यक छ । गएको वर्ष साउन २२ गते राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको तर्फबाट पत्राचार गरेर कम्तीमा सय जना व्यवसायिक किसानको नाम, सम्पर्क नम्बरसहितको विवरण मागेका छौं । अझै पनि छुट्नु भएकाहरुले पठाउँदै हुनुहुन्छ ।

जलवायु परिवर्तन भइरहेको बेला कृषि मौसमी सल्लाह बुलेटिनको महत्व बढी 

किसान र खेतीबाली जोगाउन कृषि मौसमी सल्लाह बुलेटिनको अत्यन्तै महत्व हुन्छ । मुख्य बाधक अहिले जलवायु परिवर्तन भइरहेको छ । पहिलेका सिजन पनि खलबलिएका छन् । पानी पर्ने सिजनमा पनि पर्दैन, पानी नपर्ने सिजनमा पनि परिरहेको छ । पहिला पुर्खाले अन्दाज गरेर माघे संक्रान्ति, शिवरात्रिमा पानी पर्छ भनेर अनुमान लगाउँथे । त्यो अनुमान कतिपय अवस्थामा मिल्थ्यो पनि, तर गएका केही वर्ष यता यसरी मिल्ने क्रम रहेन । पानी पनि पर्न छाडेको छ । त्यस्तै असार १५ लाई हामीले राष्ट्रिय धान दिवस भन्छाैँ, त्यही दिनदेखि धेरैजसो ठाउँमा रोपाइँ शुरु हुन्छ । तर कुनै कुनै ठाउँमा असार महिनाभर पानी पर्दैन । सिजन फेरिन थालेका छन् । जसलाई हामीले ऋतु भन्छौं । ती ऋतुको शुरुवात र अन्त्य हुने मिति पनि फेरिन थालेका छन् ।

असार लाग्यो भन्दैमा धान रोप्ने कि नरोप्ने कृषि मौसमी सल्लाह बुलेटीनले भन्छ । त्यो हेरेर मात्रै गर्नु पर्ने काम किसानका लागि एकदमै जरुरी देखिएको छ । कुनै पनि कृषि वा खेतीबालीका काम गर्नु अगाडि कृषि मौसमी सल्लाह बुलेटिनको विश्लेषण गर्नु पर्ने हुन्छ । अहिले पानी पर्‍यो तर खेती लगाउनका लागि, खनजोत गर्नको लागि यो पानी पर्‍प्त हो/होइन हरेक किसानले जान्न आवश्यक छ । त्यसैले किसानकै हितका जानकारी समेटेर हरेक हप्ता शुक्रवार कृषि मौसमी सल्लाह बुलेटिनल प्रकाशित हुन्छ । त्यो बुलेटिन सबै किसानले हेर्ने, पढ्ने, मोबाईलमा भए पनि राख्ने र त्यसैअनुसार काम गर्दा अझै फाइदाजनक हुन्छ ।

अहिले कतिपय ठाउँमा पाक्न लागेको गहुँबाली थियो त्यो असिना पानीले गर्दा नोक्सान भयो । त्यस्तै तरकारीबाली नष्ट भए । वैशाख तेस्रो हप्ताको कृषि मौसमी सल्लाह बुलेटिनल हेरेको भए सायद त्यो जोगाउन सकिन्थ्यो । जसले कृषि मौसमी सल्लाह बुलेटिन हेर्नुभयो उहाँहरुले जोगाउनु भयो ।

अब किसानले वर्षे तरकारी लगाउँदै हुनुहुन्छ । त्यो लगाउनका लागि, माटोलाई खनजोत गर्नका लागि जहाँ पानी पर्‍यो त्यहाँ राम्रो गरेको होला । तर जहाँ पानी परेको छैन, त्यहाँका किसानले अझै पर्खनुपर्छ । अरू जानकारी चाहिएमा या किसानलाई विभिन्न माध्यमको जानकारी नभएमा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रबाट पाउन सक्ने हरेक हप्ताको कृषि मौसमी सल्लाह बुलेटिन आफ्नो नजिकको पालिकामा गएर बुझ्न पनि सक्नु हुन्छ ।

पानीसँग अरु धेरै कुरा जोडिएका हुन्छन् । सुख्खा भयो भने धेरै किसिमका किराको  प्रजननका लागि सहज हुन्छ । ती किराले बालीनालीलाई क्षति पुर्‍याएको भए पनि पानी परेपछि कम हुन्छ । किराको जीवन चक्र नै तोडिन्छ । त्यस्तै कतिपय रोग कम हुन्छन् । गर्मीले जसरी मान्छेलाई 'लू' लाग्छ त्यसरी नै पशुपन्छीलाई पनि गर्मीले असर गर्छ । त्यो असरबाट पानी परेपछि पशुपन्छीलाई पनि राहत हुन्छ । यी जानकारी लिने माध्यम पनि बुलेटिन नै हो ।

किसानका गुनासो, समस्या, जिज्ञासा राख्ने माध्यम धेरै 

अहिले किसानले गुनासो, समस्या राख्न, सूचना पाउनका लागि थुप्रै माध्यम छन् । उहाँहरुले सम्बन्धित विज्ञलाई सिधै म्यासेज गरेर पनि पाउन सक्नु हुन्छ । त्यस्तै नेपाल सरकार अन्तर्गत कृषिका निकाय, सङ्घसंस्थाले पनि त्यस्ता विभिन्न माध्यम बनाउनु भएको छ । जहाँ किसानले सिधै सम्पर्क गर्ने, फोन, एसएमएस, ईमेललगायतको सुविधामार्फत् सेवा दिने गरिन्छ । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रमा पनि किसान कल सेन्टर छ । पैसा नलाग्ने निःशुल्क नम्बर ११३५ हो । हरेक सोमवार दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले यो निःशुल्क नम्बरमा फोन गरेर आफ्ना समस्या र गुनासा राख्न सक्नुहुन्छ । किसानका गुनासा, समस्या, जिज्ञासालाई विज्ञबाट सम्बोधन हुन्छ ।  कतिपय गुनासा, समस्या, जिज्ञासा तत्कालै सम्बोधन हुन्छ भने विस्तृत बझ्नुपर्ने, अनुसन्धान गर्नुपर्ने समस्या भए समय लाग्छ । त्यो पनि एक/दुई हप्ताभित्र सम्बोधन हुन्छ । 

किसानका खेतबारी, गोठमा भएका मुख्य-मुख्य समस्यालाई कृषि मौसमी सल्लाह बुलेटिनले पनि समेटेर व्यवस्थापनका बिधि, उपाय लेखेर प्रकाशित हुन्छ । त्यो हेर्दा पनि किसानले जानकारी पाउन सक्नुहुन्छ । कुनै एक्कासी जल्दोबल्दो समस्या आए सम्बन्धित विषय विज्ञमार्फत विभिन्न माध्यमको प्रयोग गरेर त्यस्ता जनचेतना, सूचना, सचेतना सन्देश किसानमा पुर्‍याउने गरेका छौँ । 

त्यस्तै राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको फेसबुकमार्फत् पनि जनचेतना, सूचना, सचेतना सन्देश राख्ने गरेका छौं । यूट्युव च्यानलमा पनि किसानलाई फाइदा पुग्ने विभिन्न विषयमा एक सयभन्दा धेरै भिडियो, डकुमेन्ट्री राखिएका छन् । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका कृषि सम्बन्धी प्रकाशन पनि नार्कको वेबसाइटमा रहेको लाईब्रेरीमा गएर पनि हेर्न सक्नु हुन्छ । जहाँ १८ हजारभन्दा धेरै सामग्री छन् । 

(राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक डा. कालिकाप्रसाद उपाध्यायसँगको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डाक्टर कालिकाप्रसाद उपाध्याय

डाक्टर उपाध्याय राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया