दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालय बन्द : विद्यार्थी र अभिभावक यार्सागुम्बा खोज्न लेकतिर

 जेठ १, २०८१ मंगलबार ९:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयमा आजदेखि पठनपाठन बन्द भएको छ । अपिहिमालका विद्यार्थी, शिक्षक र अभिभावक यो बेला यार्सागुम्बा टिप्न लेकतिर जाने भएकाले आजदेखि विद्यालय बन्द भएका अपिहिमाल गाउँपालिकाको शिक्षा शाखाका अधिकृत वीरेन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे बिदामा मिलान हुने गरी विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले वर्षे बिदाबाट बिदा मिलान गर्ने निर्णय गरेपछि आजदेखि जेठ १५ गतेसम्म पालिकाभरीका विद्यालयमा बिदा गरिएको छ ।

वडा–६ मा रहेको छिपुलाकेदार आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालयले यसअघि नै बन्द हुनेबारे पालिकालाई जानकारी गराइसकेका छन् । विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा सङ्कलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ ।

गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय छन् । सर्वसाधारण तथा विद्यार्थी पाटन उक्लिएपछि अपिहिमाल गाउँपालिकाका धेरैजसो गाउँ सुनसान भएका स्थानीय मदन कार्कीले जानकारी दिनुभयो । यार्सा खोज्न शुरु भएसँगै दार्चुलाको अपिहिमाल, मार्मा, नौगाडलगायत क्षेत्रका बासिन्दा अपिहिमालको हिमाली पाटनमा पुगेका छन् । यस्तै व्यास र दुहुँका बासिन्दा पनि यार्सा सङ्कलन हुने पाटनमा पुगेका छन् ।

मुख्यगरी अपिहिमालको लोलु, रिङ्देपानी, रौन्याड, सतगङ्गा कालीढुङ्गालगायत पाटनमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा धेरै यार्सागुम्बाबाटै राजस्व सङ्कलन गर्ने गरेको छ । अहिले यार्सागुम्बा सङ्कलनको काम भैरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।   

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया