महिला एनपीएल आयोजना गर्न क्यानलाई प्रधानमन्त्री ओलीको सुझाव

 मंसिर १०, २०८१ सोमबार १५:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिग क्रिकेटको आयोजना गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई सुझाव दिनुभएको छ ।

धरहरा परिसरमा आज नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलका लागि शुभकामना दिँदै आउँदा दिनमा महिला एनपीएलको आयोजना गर्न पनि क्यानका पदाधिकारीसँग आग्रह गर्नुभएको हो । उहाँले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताउनुभयो । प्रधानमन्त्री ओलीले एनपीएलले पर्यटन व्यवसायको पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताउनुभयो । उहाँले एनपीएलको चर्चा स्वदेशमा मात्र नभई विदेशमा समेत भइरहेको भन्दै एनपीएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने मन्त्री चौधरीको भनाइ छ ।

यस्तै कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एनपीएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताउनुभयो ।

आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुने एनपीएलको ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुङ्गा समावेश गरिएको छ । एनपीएलमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी खाठ वटा टोली छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया