सिरोहियालाई पक्राउ गरेकोमा पत्रकार महासङ्घ र मिडिया सोसाइटीद्वारा भर्त्सना

 जेठ ९, २०८१ बुधबार ९:१५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  नागरिकतासम्बन्धी कसुरको आरोपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासङ्घ, नेपाल मिडिया सोसाइटीलगायतले भर्त्सना  गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले विज्ञप्ति निकालेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासङ्घले स्वीकार नगर्ने जनाएको छ । महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधका रुपमा लिइएको उल्लेख छ । त्यस्तै नेपाल मिडिया सोसाइटीले व्यक्तिगत र इगो साँध्ने हिसाबले राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख छ ।

नागरिकता प्रकरणमा छानविनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो काठमाण्डौको थापाथलीमा रहेको कार्यालयबाट पक्राउ गरेका सिरोहियालाई जनकपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले सिरोहियालाई आजै अदालतमा पेस गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । हिजो धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै सिरोहियालाई पक्राउ गरिएको हो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया