सुष्मिता सेन : जसले मिस इण्डियामा ऐश्वर्या रायलाई पनि पछाडि पारेकी थिइन्

 मंसिर ३, २०७५ सोमबार १३:४७:१४ | उज्यालो सहकर्मी

फिल्म ‘बिबी नम्बर १’, ‘सिर्फ तुम’ ‘मे हुँ ना’ जस्ता चर्चित बलिउड फिल्मकी अभिनेत्री सुष्मिता सेनको जन्म १९ नोभेम्बर १९७५ मा भारतको हैदराबादमा भएको थियो । 

सन् १९९४ मे २१ मा उनले मिस युनिभर्सको ताज जितेकी थिइन् । उनी आकर्षक लुक र फिगरकी धनी मात्रै नभई ब्यूटी विथ ब्रेनकी एक उत्कृष्ट उदाहरण पनि हुन् । 

सुष्मिताले उनको जीवनमा हरेक कुरा निकै नै अलग अन्दाजमा गरेकी छिन् । आज पनि सुष्मिता कैयौँ व्यक्तिहरुको रोलमोडल बनेकी छिन् । भारतबाट मिस युनिभर्सको ताज जित्ने उनी पहिलो महिला हुन् । मिस युनिभर्सको उपाधि जित्दा सुष्मिता केवल १८ वर्षकी थिइन् । 

त्यस समयमा भारतमा उनीसँगै अभिनेत्री ऐश्वर्या राय पनि उक्त सौन्दर्य प्रतियोगितामा सहभागी थिइन् । एश्वर्या राय जब उक्त प्रतियोगितामा सहभागी हुन आइन् तब कैयौँ प्रतियोगी युवतीले ऐश्वर्याको अगाडि आफूहरु जित्न नसक्ने भनेर सहभागिता फिर्ता लिएका थिए ।

सुष्मिता स्वयमले पनि अर्को वर्ष सहभागी हुने भन्दै प्रतियोगिताबाट बाहिरिने निर्णय लिएर घर फर्किएकी थिइन् । तर सुष्मिता सेनकी आमाले यसै वर्ष सहभागी हुनु पर्छ, साथै यो मिस इण्डियाको ताज जितेर आउनु भन्दै सम्झाएपछि सुष्मिता प्रतियोगितामा सहभागी भएकी हुन् । अन्त्यमा त्यस समयमा सुष्मिताले ऐश्वर्यालगायत २५ जना युवतीलाई पछाडि पार्दै मिस इण्डियाको ताज जितेकी थिइन् ।

सुष्मिता सेनको करियरमा कैयौँ व्यक्तिहरुका साथ अफेयर रहेको भन्दै उनको नाम जोडियो । उनी पनि हरेकपल्ट अफेयरको खबर स्वीकार गर्थिन् । कहिले व्यापारी त कहिले अभिनेताहरुका साथ उनको नाम जोडियो । उनी ती खबरहरुप्रति सफाइ दिनुको सट्टा सधँै रिलेसनसिपका बारेमा ओपन रहँदै आइन् । 

सुष्मिता एक हिन्दी मिडियम स्कुलबाट पढाइ गरेकी हुन् । उनले १६ वर्षको उमेरमा आएर अंग्रेजी भाषा सिकेकी थिइन् । तर उनको अंग्रेजी भाषाको फ्लुएन्सी देखेर जोकोही पनि हैरान हुन्छन् । 

उनी २५ वर्ष वर्षकी हुँदा एक बच्चालाई एडप्ट गरेकी थिइन् । उनको यस कार्यलाई कैयौँ  व्यक्तिहरुले आलोचना गरेका थिए । तर उनले कसैको कुरामा ध्यान दिइनन् । आज उनी रिनी र अलीशा नामकी २ छोरीकी सिंगल आमा हुन् । 

सुष्मितालाई चाइल्ड वेलफेयरका लागि काम गर्न राम्रो लाग्छ ।। उनी एक च्यारिटेबल फाउण्डेशन सञ्चालन गर्दै आइरहेकी छिन् । जसको नाम आइ एम फाउण्डेशन हो । 

सुष्मिता एक मध्यमवर्गीय परिवारमा हुर्किएकी हुन् । उनको परिवारसँग मनग्गे पैसा थिएन । मिस युनिभर्सको ताज पहिरिने दिन उनले लगाएको गाउन कुनै डिजाइनरले तयार पारेको डिजाइनर गाउन थिएन । उनले त्यो गाउन स्थानीय ट्रेलरमा सिलाएकी थिइन् । साथै उनले हातमा लगाएको सेतो रंगको पञ्जा समेत डिजाइनर नभई खुट्टामा लगाउने एक जोर मोजाबाट बनाइएको थियो । 

आज उनी आज ४३ वर्षकी भइन् तर उनको सुन्दरताले आज पनि लाखौंलाई लोभ्याउने गर्छ । उनले अहिलेसम्म विवाह गरेकी छैनन् । हालै सार्वजनिक खबरहरुका अनुसार अहिले उनी आफूभन्दा १५ वर्ष कान्छा मोडल रोहमन शोलको प्रेममा छिन् ।

 

रोहमन शोलले उनको इन्स्टाग्राम अकाउन्टमा सुष्मितासँगको एक तस्बिर पोष्ट गर्दै मायाका साथ जन्मदिनको शुभकामना दिएका छन् । 
 

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया