भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

 असार २, २०८१ आइतबार ९:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ ।

बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले उज्यालोलाई बताउनुभयो । पछिल्ला केही दिनमा विमानस्थलबाट फर्काइएकामा धेरै जना महिला रहेको उहाँले जानकारी दिनुभयो । भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको तर आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई  नरोकिएको उहाँको भनाइ छ ।

सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान पाइने व्यवस्था छ ।

यस्तै संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । तर यो मापदण्डलाई पनि कतिपयले दुरुपयोग गरेकाले कडाइ गरेको अध्यागमनले जनाएको छ । भिजिट भिसाका विषयमा अब नयाँ कार्यविधि ल्याउन लागिएको पनि विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख पन्थीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया