एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाण्डौमा : सहमतिमै नेतृत्व चयन हुने दाबी

 असार १६, २०८१ आइतबार ९:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको कमलादिको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई एकीकृत समाजवादीले आमन्त्रण गरेकाे छ ।

यही असार २० गतेसम्म चल्ने महाधिवेशनमा देशभरिबाट एक हजार आठ सय ४७ जना प्रतिनिधि आउने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताउनुभयो । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीकै निरन्तरताका रूपमा १० औँ महाधिवेशन आयोजना गरिएको उहाँको भनाइ छ । झन्डै तीन वर्षअघि एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । 

हिजो भएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिनुभयो । उहाँले पार्टी विधान अनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना र पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि दिनुभयो । महाधिवेशनमा पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था कार्यान्वयन नगरिने भएको छ ।

त्यसैगरी पार्टीको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा उम्मेदवार बन्नका लागि एमालेमा नै काम गरेको अवधिलाई गणना गरिने पार्टी महासचिव भुसालले जानकारी दिनुभयो ।

महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुने नेताकाे दाबी छ । तर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल तीन जना अध्यक्षको दावेदारका रूपमा रहनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया