६० किलो सुन प्रकरण अनुसन्धानको दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

५ वटा नक्कली कम्पनीमार्फत ३२ क्विन्टल सुन तस्करी भएको सीआईबीको निष्कर्ष

 असार १७, २०८१ सोमबार १५:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरेको छ । फरार रहेका २६ जनासमेत गरी ४६ जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

सीआईबीले प्रतिवादीहरूबाट दुई खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध, सुनको अवैध तस्करीलगायतमा सजाय माग गरिएको छ ।

'ब्रेक शु' मार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले पुनः फाइल खोलेको थियो ।

यसैबीच सीआईबीले पाँच वटा नक्कली कम्पनीमार्फत 'ब्रेक शु' र विद्युतीय सामानमा लुकाएर झन्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

२०८० सालको साउन २ गते स्कुटरको 'ब्रेक शु' मा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट बरामद भएपछि अनुसन्धान थालेको सीआईबीले त्यही समूहले 'ब्रेक शु' मा लुकाएर ३ सय ६२ किलो ७ सय ७८ ग्राम र अरू विद्युतीय सामानमा लुकाएर २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम सुन तस्करी गरेको खुलेको हो । यो सुनको अहिलेको मूल्य ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँभन्दा धेरै पर्छ ।

यसअघि प्रहरीले २ सय ६२ किलो ७ सय ७८ ग्राम सुन तस्करी भएको निष्कर्षसहित असोज ३१ गते २४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया