बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग खारेज गर्न द्वन्द्व पीडितहरुको माग

 मंसिर ५, २०७५ बुधबार १६:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – द्वन्द्व पीडितहरुले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन ।

द्वन्द्व पीडित साझा चौतारीले बिहीबार काठमाडौंमा द्वन्द्व पीडित बडापत्र जारी गर्दैै पीडितको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै दुवै आयोग तत्काल खारेज गरेर आफूहरु समेत सहभागी भएको नयाँ आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।

बुधबार द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनको समापनपछि काठमाडौंमा पत्रकार सम्मेलन गरी चौतारीका अध्यक्ष भागीराम चौधरीले संक्रमणकालीन न्यायका लागि गठन गरिएको दुवै आयोगको औचित्य नरहेको उल्लेख गर्दै तत्काल खारेज गर्न माग गर्नु परेको स्पष्ट पार्नुभयो ।

उहाँले नयाँ आयोग गठन गरेर सरकार र राजनीतिक दलहरुले पीडितलाई न्याय दिन ढिलाई गर्न नहुने पनि स्मरण गराउनुभयो । अध्यक्ष चौधरीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगका व्यक्ति, विधि र प्रक्रियाबाट आफूहरुले न्याय पाउने नसक्ने दाबी समेत गर्नुभयो ।

द्वन्द्व पीडित साझा चौतारीले पीडितलाई न्याय दिने सुनिश्चित वातावरण बनाउन पनि सरकार र सबै राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराएको छ । अध्यक्ष चौधरीले पीडितलाई न्याय दिने वातावरण बनाउन सरकार र राजनीतिक दलहरुलाई पुनः आग्रह गर्नु भएको हो ।

द्वन्द्वकालका पीडितलाई न्याय दिने राज्यका हरेक निकायमा पीडित पक्षको सहभागिता अनिवार्य हुनुपर्ने पनि बडापत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले द्वन्द्व पीडितले न्याय पाउने सुनिश्चित हुने गरी कानुन संशोधन गर्न संघीय संसद, सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले द्धन्द्वकालीन न्याय निरुपणका लागि पीडितसँग बृहत छलफल गर्न पनि सरकारलाई पटक–पटक सचेत गराउँदै आएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया