भक्तपुर सफाइ अभियान : गृहमन्त्रीले लगाए सडकमा झाडु (फाेटाेफिचर)

 मंसिर ६, २०७५ बिहीबार ११:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बिहीबारदेखि भक्तपुरमा एक महीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ सुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर बिहीबार बिहान अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । 

पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो । 

मन्त्री थापाले भन्नुभयो, “जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।”शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताउनुभयो ।

अरनिको राजमार्गमा टिपरले धेरैको ज्यान लिएको चर्चा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “हामी सुरक्षित नेपाल पनि बनाउने अभियानमा लागेको छाैँ, सुरक्षित भए मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ, दुर्घटना र महिला हिंसाको पछाडिका कारण मदिरा नै भएकाले जनताको सुरक्षाका निम्ति पनि मदिरा पूर्णरूपमा निषेध गर्नु जरुरी छ ।” 

महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव छैन, यसमा जनताको सहभागिता जरुरी हुन्छ भन्दै उहाँले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद महेश बस्नेतले भक्तपुरको छ लेन सडकसँगै अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि भक्तपुरको सिमानामा रहेको काभ्रेको साँगासम्मको सडकका साथै सफा, स्वच्छ र सुरक्षित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा आगामी एक महीनासम्म सञ्चालन हुने यो अभियानले भक्तपुरका जनतालाई सभ्य, सुरक्षित र मर्यादित बनाउने बताउँदै उहाँले जडिबुटीबाट भक्तपुर प्रवेश गरेपछि र साँगाबाट भक्तपुर प्रवेश गरेपछि फोहर गरे कारवाहीमा परिने कुरा सबैलाई बुझाउनुपर्नेमा जोड दिनुभयो । 

जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका सम्पूर्ण निकाय, सङ्घसंस्था एक ढिक्का भएर हरेक दिन बिहान ८ बजेदेखि एक महिनासम्म अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदलगणका गणपति शिवप्रसाद पौडेलको संयोजकत्वमा अभियान सञ्चालन हुनेछ ।

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया