नवनियुक्त प्रधानमन्त्री ओलीको शपथसँगै आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी

 असार ३१, २०८१ सोमबार ७:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै हुनुहुन्छ । संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिने कार्यक्रम छ ।

नेपाली कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने कांग्रेस र एमालेको तयारी छ । यसको लागि आज बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् । दुई दलबीच एमालेले प्रधानमन्त्रीसहित सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने तयारी छ ।

कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्ने र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्ने निश्चितजस्तै भएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिनेछ ।

एमालेले अर्थ, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी बनेको छ । तर, अन्तिम टुङ्गो भने लाग्न बाँकी छ ।

कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल, अजय चौरासिया, जीवन परियार, किशोरसिंह राठौर, बद्री पाण्डे, तेजुलाल चौधरी, रामनाथ अधिकारी, हृदयराम थानी र दीपक खड्का तथा एमालेबाट योगेश भट्टराई, गोकुल बाँस्कोटा, जुली महतो, विद्या भट्टराई, दामोदर भण्डारी, पदम गिरी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, ऋषिकेश पोखरेल र एलपी सावाँ लिम्बु मन्त्रीका दाबेदार छन् । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया