त्रिशूलीमा हराइरहेका बस र यात्रु खोज्न १ सय ३२ किमीकाे दूरीमा ३ सय १ जना सशस्त्र प्रहरी परिचालन

 साउन १, २०८१ मंगलबार १७:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको शुक्रवार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेका यात्रुसहितको बसको खोजीका लागि आजदेखि सशस्त्र प्रहरीको तीन सय एक जना टोली घटनास्थलदेखि एक सय ३२ किलोमिटर दूरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ गोताखोरसहित ८६ जनाको सुरक्षा फौज दुई वटा मोटरबोट र सात वटा र्‍याफ्ट बोटसहित परिचालन भएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा एक सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ । यही गणबाट खटिएको फौज आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुरलगायतका ठाउँहरूमा परिचालन भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को इलाकामा परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा बेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालन भएका छन् ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए । त्रिशूलीमा हराइरहेका बसका यात्रुमध्ये अहिलेसम्म १५ वटा शव फेला परेकोमा नौ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी छ ।

तस्बिर : सशस्त्र प्रहरी

अन्तिम अपडेट: भदौ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया