पूर्वतयारीका कारण यस वर्ष सडक अवरुद्ध हुने समस्या केही कम

 साउन १०, २०८१ बिहीबार १५:२५:५३ | उमेश विन्दु श्रेष्ठ
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – हरेक बर्खामा पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ । अघिल्ला वर्षमा जस्तै यो वर्षको बर्खामा पनि सडक अवरुद्ध हुन नदिन र यात्रा सहज बनाउनका लागि सरकारले विभिन्न काम गर्दै आएको छ । पहिरो खुलाउन विभिन्न जिल्लामा आवश्यक जनशक्ति र प्राविधिकहरू परिचालन गरिएको छ ।

मुख्य सडक र जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी इटहरी, जनकपुर, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज र कैलालीमा आठ वटा 'हेभी इक्युपमेन्ट डिभिजन' मा रोलर, डोजर, ट्रिपर लगायत दुई सय ६४ वटा 'हेभी इक्युपमेन्ट' तैनाथ गरिएको छ । साथै मेकानिकल इन्जिनियर, मेकानिकल टेक्निसियन, अपरेटर लगायतका दक्ष जनशक्ति तयारी अवस्थामा खटाइएको छ । झन्डै आधा 'हेभी इक्युपमेन्ट' पहिरो आउन सक्ने उच्च जोखिम क्षेत्र नजिकै तयारी अवस्थामा राखिएको छ ।

यस वर्षको पूर्वतयारी अघिल्ला वर्षहरूको तुलनामा निकै प्रभावकारी देखियो । अहिलेसम्म मुख्य राजमार्गसहित देशभरिका ८० वटा राजमार्गमा पूर्वतयारी प्रभावकारी भएको छ । यो वर्ष धेरै वर्षा हुने पूर्वानुमानले जोखिम पनि बढ्न सक्ने अनुमान थियो । त्यसैअनुसारको पूर्वतयारीकै कारण सडक अवरुद्ध हुने समस्या केही हदसम्म कम भएको छ । अहिलेसम्मका तथ्याङ्कअनुसार प्रमुख राजमार्गहरूमा ठूला अवरोध कम भएको देखिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सीमा क्षेत्रमा पर्ने अँधेरीखोलामा पहिरो पन्छाउँदै स्थानीय । बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पन्छाएर पर्खाल निर्माण थालिएको हो । तस्बिर : सन्तोष गौतम / रासस

धेरै ठाउँमा सडक अवरुद्ध भए पनि लामो समयसम्म बन्द भएन । धेरैजसाे ठाउँमा २४ घण्टाभित्रै यातायात पुनः सञ्चालनमा ल्याइएको छ । बजेट र स्रोतको पर्याप्त उपलब्धताले कार्यान्वयनमा सकारात्मक प्रभाव पारेको छ । पूर्वतयारीका लागि विभिन्न सरकारी निकायले आफ्नो क्षेत्राधिकारमा रहेर सक्रिय भूमिका खेलेका छन् ।

गृह मन्त्रालयले पनि तत्काल प्रतिकार्यका लागि नेपाल प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय लगायत अरू निकायहरूसँग समन्वय गरेर कमिटी गठन गरेको छ । यसमा नेपाली सेना र नेपाल प्रहरीले ठूलो भूमिका खेलेका छन् । पूर्वतयारीसँगै यातायात व्यवस्थापनमा सुधार गर्न ठूला गाडीहरूको आवतजावतको व्यवस्थापन, समयमै सूचना प्रवाह र वैकल्पिक मार्गहरूको प्रयोगमा जोड दिइएको थियो ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा सोमवार बिहान खसेको लेदोसहितको पहिरो एक्स्काभेटरको सहायताले पन्छाइँदै ।  तस्बिर : हीरालाल गुरुङ/रासस

विशेष गरेर सडक पूर्वतयारीमा सम्बन्धित निकायहरूबीचको समन्वय प्रभावकारी रह्यो । सडक मर्मत र अवरोध हटाउने काममा प्राविधिक र जनशक्तिको भूमिका पनि महत्त्वपूर्ण रह्यो । साथै पालिका र समुदायहरूको सहभागिता पनि महत्त्वपूर्ण रह्यो जसले समस्याको पहिचान र समाधानमा सक्रिय भूमिका खेले ।

पहाडी र दुर्गम क्षेत्रहरूमा अझै सुधारको आवश्यकता देखिएको छ । कतिपय ठाउँमा पहिरो आउँदा समयमै पहिरो खुलाउन नसक्ने अवस्था आउन सक्छ । साथै विभिन्न स्थानीय निकायमा भएको अव्यवस्थित विकास निर्माण र भौगोलिक चुनौतीहरूका कारण सडक अवरुद्ध हुने समस्या बढी देखिएकाे छ । नेपालमा बेलिब्रिज कम छन् । खोलामा आएको बाढीले बेलिब्रिज बगाउँदा तत्कालै बाटो खुलाउन सक्ने अवस्था छैन । त्यसैले बेलिब्रिजको सङ्ख्या थप्नुपर्ने देखिन्छ ।

समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष हामी बढी सफल भएको छाैँ । सडक अवरुद्ध हुन नदिन र यात्रा सहज बनाउन आउँदा वर्षहरूमा अझ बढी प्राविधिक उपकरणको प्रयोग, प्रभावकारी समन्वय र स्रोतको सही व्यवस्थापनमा जोड दिनु आवश्यक छ । पूर्वतयारीलाई अझ प्रभावकारी बनाउन स्रोतको पर्याप्त व्यवस्था, सामुदायिक सहभागितामा वृद्धि गर्नुपर्छ । यसले गर्दा यात्रा सहज र सुरक्षित बन्न सक्छ ।

(सडक विभागका प्रवक्ता एवम् उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमेश विन्दु श्रेष्ठ

सडक विभागका प्रवक्ता तथा उप–महानिर्देशक हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया