व्यापार घाटा बढ्यो

 मंसिर १०, २०७५ सोमबार ८:४३:१४ | उज्यालो सहकर्मी

काठमाडौं - चालू आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा  तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा व्यापार घाटा ४५.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा यो अनुपात ७ दशमलव ९ प्रतिशत थियो ।

चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले बढेर २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अरु देशतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा पोलिस्टर, जस्तापाता, ऊनी गलैँचा, पश्मिना, दन्तमञ्जनलगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, रोजिन, छाला, जिआइ पाइप, अल्मुनियमलगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकको तथ्याँकअनुसार कूल वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर रु तीन खर्ब ७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात १७ दशमलव ९ प्रतिशतले बढेको थियो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, टेलिभिजन तथा पार्टपूर्जा, स्वास्थ्यसम्बन्धी उपकरण तथा औजारलगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

सुक्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज, कृष्णनगर, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ । अरु भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया