अन्तरिक्षमा फसेका २ जनालाई लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो, आउँदो फेब्रुअरीमा पृथ्वीमा फर्कने

 असोज १४, २०८१ सोमबार १८:३४:० | एजेन्सी
unn.prixa.net

तस्वीर : नासा

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका नासाका दुई जना अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको 'स्पेसएक्स' को 'ड्रागन क्याप्स्यूल' आईएसएससँग जोडिएको छ । बुच विल्मोर र सुनी विलिएम्सका लागि दुई सिट खाली राखेर गएको यान आईएसएसमा जोडिएको अमेरिकी अन्तरिक्ष निकाय नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विल्मोर र विलिएम्स नासाको आठ दिने अभियानमा सहभागी हुँदै गएको जुन महिनामा बोइङको नयाँ स्टारलाइनर क्याप्स्यूल चढेर अन्तरिक्षमा गएका थिए । तर यानमा प्राविधिक समस्या देखा परेपछि उनीहरू आईएसएसमै बस्न बाध्य भएका थिए । अब उनीहरू आउँदो फेब्रुअरी महिनामा पृथ्वी फर्किन सक्ने नासाले जनाएको छ । स्टारलाइनर क्याप्स्यूल भने रित्तै पृथ्वीमा फर्किसकेको छ । स्पेसएक्सको ड्रागन क्याप्स्यूलले नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोफलाई पनि लगेको छ ।

सन् २०११ देखि आफ्ना अन्तरिक्ष यान प्रयोग गर्न छाडेको नासाले अहिले अमेरिकी कम्पनी बोइङ र स्पेसएक्सको सेवा लिने गरेको छ । सन् २०१४ मा नासाले आफ्ना अन्तरिक्ष अभियानमा सहयोग लिने गरी ती दुई कम्पनीसँग अर्बाैं डलरको सम्झौता गरेको छ । अर्बपति एलन मस्कको निजी कम्पनी स्पेसएक्सले पहिलो पटक अन्तरिक्षयात्रीलाई आईएसएससम्म पुर्‍याएको थियो ।

बोइङले सन् २०१९ र २०२२ मा मानवविना नै यानको परीक्षण उडान गरेको थियो । त्यस बेला पनि समस्याहरू देखा परेकामा गएको जुनमा अन्तरिक्ष केन्द्रमा यात्री पुर्‍याए पनि फिर्ता ल्याउन भने सकेन ।

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया