भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – झण्डै एक महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीका तिखा वाणी सुन्न नपाएका नागरिकले मंगलबार भने रसिला र चोटिला भाषण सुन्न पाए ।
बिजुलीका खम्बादेखि सबैजसो ठूला राष्ट्रिय दैनिकमा विज्ञापन गरेर तामझामका साथ सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री ओलीले एक महिनापछि राम्रै फुर्तीका साथ भाषण गर्नुभयो ।
यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न नभई देशको विकास गर्न गठन भएको दावी उहाँको थियो । काठमाडौंका सडकमा कुचो लाग्न सुरु भएको कार्यक्रमदेखि कलंकी नागढुंगा सडक विस्तारले गति लिएको अनि मेलम्ची आयोजना छिट्टै काठमाडौं आउनेदेखि बालबालिका भर्ना गरेकोसम्मका कुरालाई उहाँले बडो चोटिलो ढंगले प्रस्तुत गर्नुभयो ।
बिरामी भएर झण्डै एक महिनापछि मञ्चमा फुर्तीसाथ बोलेका ओलीले ४० मिनेट लामो भाषण गर्नुभयो, जसमा कुण्ठा फुर्ती धेरै थियो भने सरकारले गरेका प्रगति र आउँदा योजना अनि नागरिकले ठ्याक्कै अनुभव गर्ने खालका काम भएको विवरण कम थियो ।
शेरबहादुर देउवादेखि गगन थापामाथि आक्रमण
आफूले सामाजिक सुरक्षा योजनाको थालनी नयाँ युगको सुरुवात भएको दावी गरेका प्रधानमन्त्री ओलीले पूर्ववर्ती सरकारले गरेका निर्णय र कामको भने निक्कै आलोचना गर्नुभयो । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ठूलो अभियानका साथ सुरु गरेको स्वास्थ्य बीमा योजना पनि प्रधानमन्त्री ओलीको तारो बन्न पुग्यो ।
‘काेक्रोमा नआउँदैदेखि जीवनको अन्तिम अवस्थासम्मका लागि स्वास्थ्य बीमा गर्छौँ भन्दै भाका टिप्नेहरु पनि पछिपछि आएका थिए, के गर्ने र कसरी गर्ने भन्ने अवधारणा नै नभएकाहरुले नै स्वास्थ्य बीमाको आफै च्याम्पियन भएको ध्वाँस दिन थाले’, ओलीले गगन थापालाई लक्षित गर्दै भन्नुभयो, ‘राज्यले के गर्दैछ भन्ने अत्तोपत्तो नभएकाहरुले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य र शासनलाई दलाल र पुँजिवादी पनि भन्न भ्याए ।’
सरकार कहाँ छ भन्ने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘सरकार खोज्नेहरुलाई म भन्न चाहन्छु, अझै देख्नुभएन ? अझै देख्नुभएन भने तपाईँले चश्मा लगाउनु पनि पर्दैन, नचाहे पनि तपाईँले सरकार देख्नुहुन्छ, अब सरकार देख्नु तपाईँको बाध्यता हुनेछ, श्रमजीवीलाई सोध्नुहोस्, मजदुरलाई सोध्नुहोस्, गरिबदुखीलाई सोध्नुहोस्, त्यहाँ तपाईँले जवाफ पाउनुहुनेछ ।’
प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता बढाउने र वृद्धभत्ता पाउने उमेर घटाउने नाममा नाटक गरेको पनि आरोप लगाउनुभयो ।
यस्तै नेपाली कांग्रेसले उदारीकरणको नाममा सरकारी सम्पत्ति निजीकरण गर्दा पनि त्यसले नेपालको विकासलाई पछि धकेलेको प्रधानमन्त्री ओलीको आरोप छ । सार्वजनिक संस्था कौडीको भाउमा लिलाम गरेको भन्दै ओलीले आक्रोश पोख्नुभयो ।
काठमाडौंमा बिजुलीका खम्बा र खुला चौरमा आफ्नो फोटोसहितका पोस्टर झुण्ड्याइएकोमा भएको आलोचनामा पनि ओलीको चित्त दुखाई रहेछ । उहाँले भन्नुभयो, ‘सरकारका काम देखाउन यत्रो तामाझाम गरिएको हो, अबका अरु कार्यक्रम नौमती बाजा बजाएर सुरु गरिनेछ ।’
सरकारले काम गरेको भन्दै दम्भ तर समाज निराशामा जाने डर ?
सामाजिक सुरक्षा योजना कार्यक्रमको शुभारम्भ कार्यक्रममा ४० मिनेट भाषण गरेका प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरेको भनेर प्रतिपक्षी दल र सरकारलाई आलोचना गर्नेहरुलाई शब्दको झापड दिनुभयो । तर उहाँको मनमा भने सरकारले काम गर्न नसकेर नागरिकमा चरम निराशा पैदा भएकोमा डर रहेको कुरा आफैले खुलासा गर्नुभयो । नेपाली समाज निराशातर्फ जान थालेको र यो देशका लागि राम्रो संकेत नभएको ओलीको भनाई थियो ।
‘जानीबुझिकन समाजलाई निराशामा लैजाने प्रयास भैरहेको छ, जुन देशका जनता निराश हुन्छन्, त्यो देशको भविष्य खतरामा पर्छ, जनतालाई निराश बनाउन प्रयास भैरहेको छ’ उहाँले भन्नुभयो, ‘हाम्रा सपनालाई मुर्छित बनाइएको छ, तर हाम्रा सपनालाई जगाउनुछ र निराश हुन थालेको समाजलाई उत्साहित बनाउनुछ, जनता र समाज निराश हुनुपर्ने कुनै कारण छैन ।’
सरकारको नौ महिने उपलब्धि, ४ वटा ब्रुमर ?
सरकारले केही काम गरेन भनेर समाजलाई निराशातर्फ लैजाने प्रयास भएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले सरकारले गरेका कामको फेहरिस्त सुनाउन थाल्नुभयो । तर उहाँले केही समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने काम अन्तिम चरणमा पुगेको र काठमाडौंमा ब्रुमरले सडक सफा गर्न थालेकोबाहेक अरु खासै उपलब्धि सुनाउनुभएन । केही दिनअघि काठमाडौंको मैतिदेवीबाट ब्रुमर लगाएर सडक सफा गरिएको कुरालाई उहाँले मुख्य प्राथमिकता दिनुभयो ।
‘केही–केहीले भन्छन्, नौ महिना बितिसक्यो एयरपोर्ट किन बनेन ? नौ महिनामा दुनियाँमा कुन चाहिँ एयरपोर्ट बनेको छ हँ ? मेलम्ची खानेपानी आयोजना हामी आउँदा थोरै प्रतिशत बनेको थियो, अहिले लगभग अन्तिम चरणमा पुग्न थालेको छ’, ओलीले भन्नुभयो, ‘केही व्यक्तिले भनेको सुनेँ, मन्त्रीको टिम राम्रो भएन रे, कस्तो चाहियो मन्त्रीको टिम ?’
मंगलबारको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले धेरै काम गरेको र देश समृद्धिको बाटोमा अघि बढेको कुरा धेरैपटक दोहोर्याउनुभयो । तर त्यत्तिकै उहाँले समाज निराशामा जान थालेको, आफ्ना काम देखाउन तामझाम गरेको र गणतन्त्रमाथि आक्रमणको षड्यन्त्र भैरहेको पनि बताउनुभयो ।
यसबाट के देखिन्छ भने, प्रधानमन्त्री ओलीले भाषणमा काम गरेको दावी गरे पनि सरकारका कामबाट आफै सन्तुष्ट हुनुहुन्न र नागरिक निराशामा जाने डरले प्रधानमन्त्रीलाई पनि सताउन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।