काठमाडौं–तराई फाष्टट्रयाक अघि बढाउन सहज वातावरण बनाइदिनुहोस् : नेपाली सेना

 मंसिर १४, २०७५ शुक्रबार १६:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली सेनाले ‘काठमाडौं–तराई र्‍दुतमार्ग’ निर्माण कार्य अघि बढाउने सहज वातावरण बनाई दिन सरकारसँग आग्रह गरेको छ ।

ललितपुरमा रहेको खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जालगायतका माग राखेर आन्दोलन गरिरहेका बेला नेपाली सेनाले स्थानीयको समस्या समाधान गरी सो दु्रतमार्ग निर्माण कार्य सहज ढंगले अघि बढाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको हो ।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै नेपाली सेनाका इञ्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँणले दु्रतमार्ग निर्माण कार्य अघि बढाउन समस्या देखिएको उल्लेख गर्दै तत्काल खोकनावासीलाई उचित मुआब्जाको व्यवस्था गरेर सो द्रुतमार्ग निर्माण कार्यलाई सहज ढंगले अघि बढाउने वातावरण बनाइदिन सरकारसँग माग गर्नु भएको हो ।

उहाँले सो द्रुतमार्गको प्रस्थान बिन्दु खोकना नै उपयुक्त रहेको निष्कर्ष पनि सुनाउनुभयो । बुङमतीवासीले फर्सीडोललाई प्रस्थान बिन्दु बनाउने सहमति कार्यान्वयन गर्न दवाव दिइरहेका बेला नेपाली सेनाले भने खोकना नै उपयुक्त हुने निष्कर्ष संसदीय समितिमा सुनाएको हो ।

कम खर्च तथा भौतिक क्षति कम हुने र बाहिरी चक्रपथ पनि जोडिने भएकाले खोकना सो र्‍दुतमार्गको प्रस्थान बिन्दुका लागि उपयुक्त हुने आफूहरुको निष्कर्ष रहेको पनि उपरथी खाँणले बताउनु भयो ।

खोकनालाई प्रस्थान विन्दु बनाउँदा स्थानीयको जग्गा धेरै नपर्ने दावी पनि गरिएको छ । उपरथि खाँणले सो दु्रतमार्ग एशीयाली विकास बैंकको डिजाईन अनुसार अघि बढाइएको पनि स्पष्ट पार्नुभयो । तोकिएको समय भित्र पूरा हुने गरी सो र्‍दुतमार्गको पुल, टनेल र ढलको निर्माण कार्य एकैसाथ अघि बढाउने नेपाली सेनाको तयारी छ ।

नेपाली सेनाले सो दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन माघ महिनाभित्र तयार हुने गरी काम भइरहेको पनि जानकारी दिएको छ । सेनाले सो द्रुतमार्गका लागि ९९ वटा पुल आवश्यक पर्ने पनि जनाएको छ । त्यसैगरी आवश्यक टनेल र ढलको काम पनि एकैसाथ अघि बढाउने उपरथी खाँणले बताउनुभयो । उहाँले सो आयोजना तोकिएको ४ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता पनि पटक पटक दोहोर्‍याउनुभयो ।

नेपाली सेनाले सो र्‍दुतमार्गकोे कामलाई अघि बढाउन सेनालाई आवश्यक सेवा र सुविधा उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा समितिका सदस्यहरुले र्‍दुतमार्ग निर्माणको काममा ढिलाई नगर्न नेपाली सेनालाई सचेत गराएका थिए ।

सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सो दु्रतमार्ग निर्माणको काम पारदर्शी ढंगले तोकिएको समयभित्र पूरा गर्न नेपाली सेनालाई सचेत गराउनुभयो । उहाँले सो द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन छिटो तयार पार्नुपर्नेमा पनि जोड दिनु भएको थियो ।

समितिका अर्का सदस्य टोपबहादुर रायमाझीले सो द्रुतमार्गको पुल, टनेल र ढलको काम एकसाथ अघि बढाउन नेपाली सेनाको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले सो द्रुतमार्ग ढिलाई नहोस् भन्नेमा सचेत रहनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

चार वर्षभित्र सम्पन्न गर्ने गरी सो र्‍दुतमार्ग निर्माणको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो । तर ललितपुरस्थित खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जाको समेत व्यवस्था नगरेको भन्दै तत्काल सो र्‍दुतमार्ग निर्माणको काम अघि नबढाउन संसदीय समितिहरुलाई दवाव दिइरहेका छन ।

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया