एनपीएलको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै

 पुष ६, २०८१ शनिबार १२:१२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोजेको छ । सुदूरपश्चिम अङ्कतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो ।

फाइनल खेलअघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । एनपीएल विजेताले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट एक जना नेपाली खेलाडीले कार पाउनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।

पहिलो पटक आयोजना भएको एनपीएलले नेपालको क्रिकेटलाई देशभित्र मात्रै नभई विदेशमासमेत चर्चा कमाएको छ । यो प्रतियोगितामा कर्णाली याक्सबाट भारतीय स्टार क्रिकेटर शिखर धवनले समेत खेलेका छन् । साथै यो प्रतियोगिताको क्रिकेटका हस्ती ब्रायन लाराले समेत अवलोकन गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया