धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
सुर्खेत – कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबाट डोल्पाको त्रिपुराकोटसम्मकाे सडक स्तरोन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व शहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताउनुभयो ।
भेरी करिडोर सडक २१७ किलोमिटर लामो हुने छ । त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म ११८ किलोमिटर दूरी छ । अहिले जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनैसम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति हुने भएको हो ।
बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको यो खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो ।
अहिले बेलिब्रिज भएको ठाउँमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ । यस्तै त्रिदेशीय सडकका रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काममा निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन १ वर्ष बाँकी हुँदा १५ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ ।
लासिक्यापबाट मरिमसम्मको सडक निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको १०० किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।