घर लिप्ने माटो खन्दा ढिस्कोले पुरिएर हुम्लामा एक जनाको ज्यान गयो, चार जना घाइते

 फागुन २८, २०८१ बुधबार १५:२:४० | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – हुम्लामा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । यस्तै चार जना घाइते भएका छन् ।

घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका वडा नम्बर ७ की २८ वर्षीया नेत्रकला जैशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । तीर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् ।

यसअघि अस्ति सोमवार अछाममा पनि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको थियो । मङ्गलसेन नगरपालिका वडा नम्बर ९ ओलीगाउँका देवरानी–जेठानी देउरूपा बोहरा र विनीता बोहराको ज्यान गएको हो ।

हुम्लालगायत कर्णालीका केही जिल्ला र सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, बैतडीलगायतका पहाडी जिल्लामा फागुन–चैत महिनामा रातो माटो र कमेरो माटोले घर लिपपोत गर्ने चलन छ । सुदूरपश्चिममा विशु पर्व र कर्णालीमा चैतलो पर्वका लागि घर लिपपोत गर्ने चलन रहेको हो । यही बेला माटो खन्ने क्रममा वर्षेनि ढिस्कोले पुरिएर ज्यान जाने गरेको पाइन्छ ।

घर लिप्न मिल्ने माटो निश्चित ठाउँमा पाइन्छ । त्यहाँ माटो खन्दाखन्दै ओडार बनिसकेको हुन्छ । ओडारभित्र पुगेर माटो खन्ने क्रममा ढिस्को खसेर ज्यान जाने गरेको देखिएको विपद् विज्ञ डा. धर्मराज उप्रेती बताउनुहुन्छ । वर्षेनि धेरैको ज्यान गइरहेको तर खासै वास्ता नगरिएको यो विपद् रोक्नका लागि पालिकाहरूले काम गर्नुपर्ने उहाँको सुझाव छ ।

पालिकाहरूले डोजरको प्रयोग गरी माटो निकालेर वितरण गर्ने र गहिरो भएको ठाउँमा खन्न रोक लगाउने हो भने दुर्घटना रोक्न सकिने विपद् विज्ञ उप्रेतीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया