दाताको भरमा हुँदै आएको गैंडा गणना यस वर्ष नहुने, अर्को वर्षको बाघ गन्ने काम पनि प्रभावित हुन सक्ने

 चैत १, २०८१ शुक्रबार १८:१३:१८ | रासस
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना यो वर्ष नहुने भएको छ । यही ५ गतेदेखि गणना शुरू गर्ने तय भएकोमा आर्थिक अभावका कारण रोकिएको हो । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग रोकिँदा यस वर्षको गैंडा गणना कार्य प्रभावित भएको छ । दाताको भरमा गैंडा गणना कार्य हुँदै आएको थियो ।

गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ । त्यसमा जीपीएस उपकरण, ल्यापटप, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख रुपैयाँ खर्च यूएसएआईडीले बेहोर्ने सहमति थियो । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष दाताबाट आर्थिक सहायता नपाएपछि गणना कार्य रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सम्भव भएसम्म निकुञ्जका पोस्टमार्फत एक–एक गैंडाको सङ्केतका आधारमा अवस्था पहिचान गर्ने उहाँले बताउनुभयो ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा एक सिङ्गे गैंडा पाइन्छन् । अघिल्लो गणना सन् २०२१ का अनुसार सात सय ५२ वटा गैंडा थिए । त्यसमा सबैभन्दा धेरै चितवनमा ६ सय ९४ वटा, बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा एक सिङ्गे गैंडा रहेका पाइएको थियो । गणनाबाट कुन क्षेत्रमा कति गैंडा छन् यकिन हुने र त्यसैअनुसार व्यवस्थापनमा सहज हुन्छ ।

यसपालि गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिँदा बाघ गन्ने कार्यक्रमसमेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा. कँडेलले बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया