‘यति धेरै हिरोहरु जन्मिएको देशको हालत यस्तो किन ?’

 पुस १०, २०७५ मंगलबार १०:२३:४० | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

कास्की – पछिल्लो समय नेपाली साहित्यमा आत्मकथाको बाढी नै आएको छ । अझ सार्वजनिक पद धारण गरेका व्यक्ति अवकाशलगत्तै आफ्ना आत्मकथा सार्वजनिक गर्न लागेका छन् । नेपाली साहित्यमा पुस्तकको संख्या बढ्नुलाई एक प्रकारले राम्रो त भन्न सकिएला तर यो एक प्रकारको प्रदूषण पनि हो ।
 
महत्वपूर्ण वा जिम्मेवार पदमा बसेका व्यक्तिहरुले आत्मकथामार्फत नेपाली साहित्यलाई के योगदान दिएका छन् त ? आफ्नै मात्र स्तुती गान गाएर, आफैलाई मात्र हिरो बनाएर लेखिएका अधिकांश आत्मकथा सत्य नै छैनन् भन्ने कुरा पनि हो । प्रकाशकले दबाब दियो भन्दैमा आत्मकथा लेख्नेहरु पनि छन् यहाँ । 

यसै विषयमा केही समयअघि वरिष्ठ पत्रकार युवराज घिमिरेले देश सञ्चार डट कममा एउटा लेख लेखे, ‘हिरोहरुको देशको यो हाल किन ?’ उनको लेखको मूल आशय नै आत्मकथा लेख्नेहरुले सत्य र तथ्यलाई ख्याल गर्नुभन्दा पनि आत्मप्रशंसामा शब्द खर्चिए भन्ने थियो । उनी लेख्छन्, ‘यति धेरै हिरोहरु भएको यो मुलुकको यो ‘अधोपतन’ अनि राज्यका संस्थाहरुको आधिकारिकता र दक्षताको क्षयीकरणको क्रमले किन तीव्रता पाएको छ ? किनकी उनीहरुको आफ्नै बारेको मूल्याङ्कनमा खोट छ । र उनीहरुमा जवाफदेहिताको शून्यता छ ।’ घिमिरले पत्रकारजस्तै लेखक पनि पाठकहरुप्रति जवाफदेही र जिम्मेवार बन्नुपर्छ भनेका छन् । 

नेपालमा च्याउसरी प्रकाशित भएका आत्मकथा सत्यको कति नजिक छन् । वा कतिपय संवैधानिक पदमा बसेकाहरुलाई कानुनी हिसाबले पुस्तक लेख्न मिल्छ मिल्दैन भन्ने कोणबाट पनि बहस सुरु भएको छ । शनिबारदेखि पोखरामा सुरु भएको सातौँ नेपाल साहित्य महोत्सवमा सोमबार यसै विषयले चर्चा पायो । ‘संस्मरण विस्मरण’ नामक सत्रमा वरिष्ठ पत्रकार युवराज घिमिरे, लेखकद्वय अर्चना थापा र ब्रजेशसँग आत्मकथाका विविध पाटाबारे भएको अन्तरक्रियाको संयोजन गरेका थिए दीपक सापकोटाले ।

नेपाली बजारमा रहेका आत्मकथाका प्रवृत्तिका बारेमा वरिष्ठ पत्रकार युवराज घिमिरे भन्छन्, ‘नेपालका प्रकाशित धेरै आत्मकथामा लेखकहरुले आफूलाई हिरोको रुपमा प्रस्तुत गरेका छन् । नेपाली कालखण्डमा यति धेरै अटोबायोग्राफी र बायोग्राफी लेखिएको अर्को चरण पनि छैन होला । एकै पटक यति धेरै हिरोहरु जन्मिएको यो देशको अवस्था चाहिँ किन यस्तो भएको होला ? एउटा स्वभाविक प्रश्न उठ्छ । समकालीन लेखकहरुले जुन घटनामा आफूलाई केन्द्रित गरेर आफूलाई हिरो बनाउने प्रयास भएको छ । तर ती घटनाका साक्षी अरु पनि छन् भन्ने हेक्का राख्नुपर्छ ।’ आफूलाई हिरो बनाउनकै लागि घटनालाई लेखकहरुले ‘काल्पनिक ट्विस्ट’ दिने गरेको घिमिरे बताउँछन् । 

पछिल्लो समय प्रकाशित भएका आत्मकथाका आयामबारे लेखक अर्चना थापा भन्छिन्, ‘पछिल्लो समय नेपालमा आत्मकथाको बाढी आएको देखिन्छ । तर अधिकांश आत्मकथा ठूलाबडाका मात्रै छन् । धनीमानी व्यक्तिका मात्रै आत्मकथा सार्वजनिक भएका छन् । मूलधारमा नभएका महिला, सीमान्तकृत वर्गमा पारिएका व्यक्तिहरुको आत्मकथा आउन सकेकै छैन । यदि यस्ता व्यक्तिहरुको आत्मकथा आउने हो भने अहिले देखिएको हिरोइजमको ग्रान्ड न्यारेटिभलाई ब्रेक गर्छ ।’

लेखक थापाका विचारमा आत्मकथा लेख्ने धेरैजसो लेखकहरुले ‘म छु र संसार छ’ भन्ने विश्वास वा भ्रम गर्ने गरेका छन् । 

यसो भन्दै गर्दामा आत्मकथा किन लेख्ने वा किन पढ्ने त भन्ने गम्भीर प्रश्न पनि उठ्छ । सबै आत्मकथा झुटो पनि हुँदैनन् । विश्व साहित्यकै कुरा गर्ने हो भने रुसो र टमस डि क्विन्सीका आत्मकथाहरु अहिले पनि उत्तिकै पढिन्छन् । आत्मकथामा उनीहरुको इमान्दारितापूर्वकको प्रस्तुतिलाई नै पाठकहरुले मन पराएका हुन् । तर नेपालमा प्रकाशित भएका आत्मकथाले ऐतिहासिक तथ्यलाई तोडमरोड गरेका छन् । आफूलाई नायक सावित गर्नका लागि तथ्य नै बंग्याइदिन थालेपछि त्यस्ता पुस्तक पाठकले किन पढ्ने ?

लेखकहरुलाई निरुत्साहित बनाउने भन्दा पनि उनीहरुलाई जवाफदेही बनाउन जोड दिनुपर्ने भन्दै पत्रकार घिमिरे भन्छन्, ‘मैले लेखकहरुलाई डिस्करेज गर्नका लागि लेख लखेको होइन । उहाँहरुलाई जिम्मेवार र पाठकप्रति जवाफदेही बनाउनका लागि हो । लेख्नु छ भने साँचो कुरा लेख्नुहोस् भन्ने हो । गान्धीकै बारेमा पनि विभिन्न पुस्तकहरु आएका छन् । उनका विचारबारे सहमति विमति होलान् । तर फ्याक्ट्समा भिन्नता छैन ।’

त्यस्तै आत्मकथामा लेखकहरुले आफ्नै कुराहरु, कमजोरी प्रस्तुत गर्नुपर्ने ब्रजेश बताउँछन् । तर अधिकांश आत्मकथामा लेखकहरुले आफ्नो कमजोरी लुकाएर अरुको कमजोरीलाई प्रस्तुत गर्ने चलन रहेको बताउँछन् । उनी भन्छन्, ‘मैले केही गरेको छु भने पनि त्यो अरुले भन्ने कुरा हो । त्यसैले मैले ’साइड हिरो’ मा आफू किन हिरो बन्न सकिनँ भन्ने कुराहरु नै प्रस्तुत गरेको छु । आफ्ना कमजोरीहरु नै लेखेको छु । साइड हिरो असफलताको कथा त होइन, म सफल हुन नसकेको कथा हो ।’

पछिल्लो समय समग्र नेपाली साहित्यमै कमजोर देखिएको महिलाको उपस्थिति आत्मकथा लेखनमा पनि देखिएको छ । दुर्गा सुवेदीको ‘विमान विद्रोह’ मै पनि पुरुषकै मात्र उपस्थिति भएको थापा बताउनुहुन्छ । यस प्रकारले ऐतिहासिक लेखनमै महिलालाई साइडमा राखिएको आरोप थापा लगाउनुहुन्छ ।

पछिल्लो समय पूर्व प्रहरी महानिरीक्षक, पूर्व प्रधानसेनापति, राजा विरेन्द्रका एडीसी, पूर्व प्रधानमन्त्रीलगायतका संस्मरणहरु आएका छन् । यस्ता व्यक्तिका आत्मकथामा गम्भीर आरोप लगाइएका छन् । अझ अनुसन्धान गर्ने जिम्मेवार निकायमै बसेका जिम्मेवार व्यक्तिले यस्तो आरोप लगाउनु कति उचित हो भन्ने प्रश्न पनि उठ्छ । पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल अवकाशको लामो समयपछि आफूले वामदेव गौतमलगायतका व्यक्तिले दिएको घुस नलिएको दावी गरेका छन् । एउटा जिम्मेवार व्यक्तिले त्यस्तो घटना पदमा रहँदा नै किन सार्वजनिक गरेनन् भन्ने प्रश्न उठ्छ यहाँ । ‘बोल्ड’ प्रधान्यायाधीशको छवि बनाएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पनि आत्मप्रशंसामा रमाएको देखिन्छ ।

घिमिरे भन्छन्, ‘सुशीला कार्कीले एउटा सन्देश दिनुभएको छ, न्यायपालिका खत्तम छ तर म राम्रो हो । तपाईँ कुनै संस्थाको हेड हुनुहुन्छ भने त्यहाँको विसंगति र असफलताको दोष र श्रेय तपाईँलाई पनि जान्छ । जवाफदेहिताबाट उम्कन्न पाइँदैन ।’

घिमिरे पूर्व प्रहरी महानिरीक्षक खरेलले फलानोलाई घुस दिएँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई चुनौती दिएको बताउँछन् । ‘ल इन्फोर्सिङ एजेन्सी’ को मान्छेले गम्भीर भएर कुरा प्रस्तुत गर्नुपर्ने घिमिरे बताउँछन् । 

त्यस्तै पूर्व राष्ट्रपति रामवरण यादवको आत्मकथा ‘टाकुरामा एक्लो मान्छे’ को प्रसंगमा घिमिरे भन्छन्, ‘पूर्व राष्ट्रपतिले टाकुरामा आफैलाई मात्र देख्नुभयो, अरुलाई देख्नुभएन । उहाँले आफैलाई टाकुराको मान्छे भन्ने होइन, अरुले भन्ने हो । यस्तो कुराले संस्था र संस्थाका प्रतिनिधिको विश्वसनियतालाई कमजोर बनाउँछ ।’

पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको आत्मकथाका बारेमा घिमिरे भन्छन्, ‘रुक्माङ्गद कटुवालको आत्मवृत्तान्तमा अरु लेखकहरुले जस्तै उनले पनि आफूलाई राष्ट्रिय संकट अवस्थाको ‘हिरो’ कै रुपमा प्रस्तुत गरेका छन् । तर के भनिएको छ भन्दा पनि त्यसभित्रका ‘ओमिसन’ या छुटाइएका विषय बढी महत्वपूर्ण छन् ।’

संस्मरण किन लेख्ने त भन्ने विषयमा लेखक ब्रजेश भन्छन्, ‘कुनै पनि आत्मकथाले तत्कालीन समयको समाजलगायतका कुरालाई इंगित गरेको छ भने त्यो धेरै समयसम्म पनि सान्दर्भिक हुन्छ । आम पाठकलाई रुची लाग्ने खालका छन् भने ती पछिसम्म पनि जीवन्त हुन्छन् ।’

पाठकलाई रुची जाग्छ भन्दै अहिले जिम्मेवार निकायमा काम गरेका व्यक्तिहरुले पनि घटनालाई सनसनीपूर्ण बनाएर प्रस्तुत गरेको देखिन्छ । पूर्व प्रधानसेनापति कटुवालले आफूले गर्दा नै ठूलो हिंसा रोकिएको भने । विवके शाहले ‘मैले देखेको दरबार’ मा संवेदनशील कुराहरुलाई पनि हल्का रुपमा बाहिर ल्याएका छन् । त्यो कति साँचो वा झुटो वा बहसकै विषय होला । 

तर पछिल्लो समयमा आएका आत्मकथाका विषयबस्तुलाई मान्ने हो भने देश किन बनेन भन्ने प्रश्न पनि तीनै व्यक्तिबाट जवाफ आउनुपर्छ । वरिष्ठ पत्रकार युवराज घिमिरेले भनेझैँ एक से एक हिरोहरु जन्मिएको देशको अवस्था चाहिँ किन यस्तो भन्ने प्रश्नको उत्तर आफूलाई हिरो ठान्नेहरुले पनि दिनुपर्छ । 

अन्तिम अपडेट: चैत २, २०७५

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया