युएईमा उधौली साकेला साँदरको रौनक (फोटो फिचर)

 पुस १४, २०७५ शनिबार ८:२०:५७ | उमाकान्त पाण्डे

युएई – युएईमा एक साता ढिलागरी उधौली साकेला साँदर मनाइएको छ ।

किरात समुदायका राई तथा सुनुवार जातिको पर्व उधौली साकेला साँदर युएईमा शुक्रबार मनाइएको हो । किरात समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली पर्वका रुपमा मनाउने गरे पनि परदेशमा कार्यरत समुदायले भने सार्वजनिक बिदाको मेसो पारेर एक साता ढिलो भए पनि आफ्नो मौलिक पर्व मनाएको किरात राई यायोक्खा युएईकी अध्यक्ष चन्दकला साम्पाङ्गले जानकारी दिनुभयो । 

किरात राई यायोख्या युएई शाखा र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबार अबुधाबीको मुसाफा पार्कमा भेला भएका किरात, राईहरुले ढोल झेम्टा, मासुमे ,ढोले, खरङा, (चिन्डो) धनु, धनुकांड, तिर भाला, चोखो उम्मा, चाँैरीको पुच्छर, छिर्लङकलगायतबा बाजगाजासहित रमाइलो गरेका थिए । परम्परागत भेषभूषामा सजिएका किरात साथै अन्य समुदायका नेपालीहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए।

अघिल्लो वर्षजस्तो यसपटक पनि आबुधाबीको स्थानीय प्रशाशनमार्फत अनुमति लिएर गरिएको कार्यक्रममा किरात तथा गैरकिरातीहरु गरी झण्डै ५ सय नेपालीको उपस्थिति थियो ।

नेपालमा आदिवासी जनजातिको सार्वजनिक बिदा कटौती गरेकोले परदेशमा सांकेतिक विरोधस्वरुप यस पटकको पर्व मनाइएको आयोजकले जनाएको छ ।

युएईमा व्यवसाय गरिरहेका नेपाली व्यावसायिक संगठनमा सस्थाको तर्फबाट पत्र काटेर आफ्नो समुदायको कोही कार्यरत भए यस पर्वको अवसरमा बिदा दिन सस्थाले अनुरोधसमेत गरेको जनाएको छ ।  

किरातीहरुले आफ्नो घरको मूल चुलामा पूजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्दछन् । आफ्नो संस्कृतिको संरक्षणका लागि समाजले नेपालबाटै साङ्गीतिक बाजाहरू यहाँ जुटाएको यायोख्या युएईका पूर्व अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया