नेपालगञ्ज–नयाँ दिल्ली बस सेवा सुरु

 पुस १४, २०७५ शनिबार १८:२५:२१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – शनिबारदेखि नेपालगञ्ज–नयाँ दिल्ली सिधा बस सेवाको सुरुवात भएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार नेपालगञ्जबाट बस सेवाको शुभारम्भ गर्नुभयो । बस सेवाको सुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले नयाँ दिल्लीका लागि सिधा बस सेवा सञ्चालन हुनु प्रदेश नम्बर ५ को पर्यटनको विकासका लागि समेत महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

प्रदेश ५ मा भारतीय पर्यटक भित्र्याउनका लागि बस सेवा सञ्चालन हुनु आफैँमा सकारात्मक भएको भन्दै मुख्यमन्त्री पोखरेलले यसको निरन्तरताका लागि यातायात व्यवसायी संस्थाले ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

नेपाल र भारत सरकारबीच सिधा बस सेवा सञ्चालनका लागि रुट परमिटको सहमति भएपछि नेपालगञ्जस्थित भेरी यातायात प्रालिले नेपालगञ्जबाट नयाँ दिल्ली, उत्तरप्रदेशको राजधानी लखनउ र देहराधुन (हरिद्धार) का लागि रुट परमिट पाएको हो ।

प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अबको डेढ महिनाभित्रै लखनउ र हरिद्धारका लागि पनि बस सेवा सञ्चालन गर्ने जानकारी दिनुभयो । यसअघि  नेपालका विभिन्न जिल्लाबाट नयाँ दिल्लीमा भारतीय दुताबासमा पर्यटक अनुमति लिएर व्यवसायिक बस सेवा संचालन भएको थियो ।

यसलाई अवैध मानिने हुँदा ठाउँ–ठाउँमा यात्रुले कठिनाई सहनुपरेको व्यवसायीहरुले बताएका छन् । नेपालगञ्ज– नयाँ दिल्ली बस भाडा दुई हजार रुपैयाँ कायम गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया