ल्याण्डफिल साइट अझै निर्माण हुन सकेन

 पुस २१, २०७५ शनिबार १४:५७:५३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण भइरहेको आधुनिक ल्याण्डफिल साइट निर्माणका लागि फेरि समय थप गर्नुपर्ने भएको छ ।

विवादले समयमै काम सञ्चालन हुन नपाएपछि पटक–पटक म्याद थप गरिएका कारण निर्माणमा ढिलाई भए पनि अब भने ल्याण्डफिल निर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । 

पछिल्लो पटक निर्माण कम्पनीले डिसेम्बर २०१८ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । समयभित्र सम्पन्न हुन नसकेपछि तीन महिना म्याद थप गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले नै ल्याण्डफिल साइट संचालन गरी स्थानीय कर्मचारीलाई सिकाउने उप–महानगरपालिकाले जनाएको छ । निर्मार्णाधीन ल्याण्डफिल साइटको जग्गाभित्रको क्षेत्रमा केही व्यक्तिको नाममा जग्गा पाइएपछि विवादले एक वर्षसम्म काम रोकिएका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको कम्पनीले दाबी गरेको छ ।

एसियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत  ३३ करोड ८८ लाख २७ हजार ३२५ रुपैयाँको लागतमा ल्याण्डफिल साइटको निर्माण कार्य सुरु भएको हो । १२ बिघा १९ कठ्ठा जग्गामा हाल ल्याण्डफिलसाइट निर्माण भइरहेको छ । १२ बिघामा नक्सा अनुसार ल्याण्डफिल साइटको  निर्माण कार्य भइरहदा बीचमा १९ कठ्ठा जग्गा व्यक्तिको नाममा पाइएको हो ।

एसियाली विकास बैङ्कले नमुनाको रुपमा परियोजना निर्माण गर्न लागेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया