मलेसियामा बँधुवा पशुकाे जस्तै व्यवहार सहनुपर्‍यो

 पुस २८, २०७५ शनिबार १४:५९:३१ | मेरो कथा मेरो भोगाई

मानबहादुर भुजेल, दोर्पा/खोटाङ । 

म वैदेशिक रोजगारीका लागि दुई पटक मलेसिया र एक पटक कतार गएँ । यी दुवै देशमा मैले हामीले बाँधेर पालेको पशु जस्तै व्यवहार सहनुपर्‍यो । यो मेरो मात्रै व्यथा होइन होला । किनकी वैदेशिक रोजगारीमा जाने कमै नेपालीले मात्रै अरु देशका नागरिकको जस्तो सेवा सुविधा पाउँछन् । 

म २०५८ साल असार १ गते एक लाख २० हजार रुपैयाँ तिरेर मलेसिया गएँ । फर्निचरको कामका लागि गएको दुई वर्ष हुँदा घरमा बुवा बित्नुभयो । मैले कम्पनीलाई धेरै अनुरोध गरें तर बिदा दिएन । आफ्नो संस्कार पनि गर्न पाइन । १० दिनसम्म फलफूल खाएर बसें । 

बुवाको निधन हुँदा पनि फर्किन नपाउँदा म बिचलित भएको थिएँ । तीन वर्ष पुगेपछि २०६१ सालमा घर फर्किन दियो । घर आएँ । बुवाको काम गरें । गाउँमा कामको मेलो समाउन नसकेर फेरि २०६३ मा मलेसिया नै गएँ ।

                                                                  (फाइल फोटो)

ग्लोब बनाउने कम्पनीमा ४ वर्ष काम गरें । सामान्य कामदार भएर काम सुरु गरेको मैले २१ जनाको नेतृत्व गरें । त्यतिबेला आमा बिरामी हुनुभयो । घर आउन खोजें तर त्यतिबेला पनि पाइनँ । ६ वटा निवेदन दिएपछि एक वर्षमा बल्ल घर आउन पाएँ । तीन महिनाको बिदा माग्दा एक महिनाको मात्रै बिदा दिएपछि म नफर्किने मनस्थिती बनाएर फर्किएँ । 

दुई वर्ष घरमै बसें । त्यसपछि कतार गएँ । कतार जाँदा दलालले फसाएछ । भिसा त एक महिनामै आएको थियो । तर त्यो कम्पनी खुलेको तीन महिना मात्रै भएको रहेछ । त्यहाँको पहिलो कामदार नै म भएँ ।

त्यसको १५ दिनपछि थप दुई जना नेपाली र दुई जना भारतीयलाई ल्यायो । त्यो कम्पनीमा ठेकेदारले अरु कम्पनीबाट भागेका मान्छे ल्याएर काम गराउँदो रहेछ । त्यो थाहा पाएर मैले उहाँ पुगेपछि कम्पनीका विरुद्धमा उजुरी दिएँ । त्यसपछि कामदार ल्याउन पाएन । 

अरु कामदार त आउन पाएनन् तर मसँगै त्यहाँ भएका कामदारलाई समस्या भयो । मैले मलाई पठाउने म्यानपावरलाई पनि भनें तर वास्तै गरेन । चार÷पाँच महिना काम गर्दा एक महिनाको पैसा दिन्थ्यो । त्यो पैसा त्यतिञ्जेल उधारोमा खाएको तिर्दैै ठिक्क हुन्थ्यो । 

त्यतिबेला दशैंको अष्टमीको दिन भोकै काम गर्नुपरेको अझै बिर्सिएको छैन । नवमीको दिन श्रीलङ्काको एक जना साथीसँग एक रियाल मागेर खबुस (रोटी) खानु परेको थियो । 

यसरी नै १५ महिना बित्यो । त्यतिबेला बल्ल मेडिकल गर्न लान्छु भनेर भिसा माग्यो । मैले दुई वटा फोटोकपी गरेर राखेर उसलाई भिसा दिएँ । भिसा पाएपछि कम्पनीको त्यो ठेकेदारले म अब तेरो भिसा लाउन सक्दिन भन्न थाल्यो । 

मसँगै फोटोकपी थियो । त्यो लिएर लेबर कोर्ट गएँ । तर भिसाको फोटोकपीमा दुई वटा नम्बर मेटिएछ । त्यसले गर्दा मुद्धा दर्ता भएन । एक दिन काम गर्ने ठाउँमा भएको त्यो ठेकेदारको कोठामा मैले दिएको भिसा पेपर देखें । उसबाट खोसेर लगेर मुद्धा लडें ।

मुद्धा लेबर कोर्ट हुँदै त्यहाँको सुपरकोर्टसम्म पुग्यो । तर मैले जसका विरुद्ध उजुरी गरें, त्यो कम्पनीको कोही प्रतिनिधि लेबरमा एक दिन मात्रै गयो । तर सुपरकोर्टले उसको नामको सूचना नै ल्याएर ऊ बस्ने ठाउँमा ल्याएर टाँसेपछि मलाई मेरो पासपोर्ट र टिकट ल्याएर दियो ।

त्यतिबेला मैले ७ महिनाको तलब पाउन बाँकी थियो । उसले ५ महिनाको दियो । दुई महिनाको तलब मैले पाइनँ । त्यो पैसा छोडेर म फर्किएँ । मैले मलेसियामा दुई पटक आफूले चाहेको बेलामा फर्किन पाइनँ अनि कतारमा पनि त्यस्तै भोग्नुपर्‍यो ।

त्यही भएर मलाई वैदेशिक रोजगारीमा जाने म र म जस्तै कामदारलाई त त्यहाँ बँधुवा पशुलाई जस्तै व्यवहार गरिरहेका छन भन्ने लाग्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०७६

तपाईको प्रतिक्रिया