माघमा हुने माउण्टेन बाइक प्रतियोगिता वालिङ महोत्सवको मुख्य आकर्षण बन्ने विश्वास

 पुस २८, २०७५ शनिबार १५:११:१२ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – स्याङजाको वालिङमा आउँदो माघमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता आयोजना हुने भएको छ ।

१०० किलोमिटर दूरीको माउन्टेन बाइक प्रतियोगिता वालिङ महोत्सवको मुख्य आकर्षक बन्ने भएको छ । 

वालिङ नगरपालिका तथा वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वन्डरफुल वालिङको सहकार्यमा आउँदो फेव्रुअरी १ मा प्रतियोगिता सञ्चालन हुने छ । 
साइक्लिङ प्रतियोगिताको लागि एक सय किलोमिटरको दूरी तय गरिएको छ । एक दिवसीय प्रतिस्पर्धा माघ १८ गते बिहान सात बजेबाट सुरु भएर दश घण्टामा प्रतिस्पर्धीले तोकिएको दूरी पूरा गर्नुपर्नेछ । 

एकसय किलोमिटरको पहाडी बाटो पार गर्नुपर्ने कठिन कार्य भएकाले साहसिक खेलबाट वालिङको पहिचान गराउन खोजिएको प्रतियोगिताका निर्देशक दिनकर नेपालले जानकारी दिनुभयो । 

उहाँले प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्यका रुपमा स्याङजा परिचित भइसकेको भन्दै अब साइक्लिङ पनि थप्न लागिएको जानकारी दिनुभयो ।
‘स्मार्ट वालिङ’ दीर्घकालीन योजनालाई प्रतियोगिताले महत्वपूर्ण टेवा पुर्याउने वालिङ नगरपालिका प्रमुख एवं प्रतियोगिताका संरक्षक दिलिपप्रताप खाँडले दावी गर्नुभयो । 

उहाँले प्रतियोगिताले वालिङको नाम विश्वमा परिचित गराउन सहयोग पुग्ने धारणा पनि राख्नुभयो । 

साहसिक पर्यटनको सम्भावनालाई विश्वमा प्रचार–प्रसार गर्नुका साथै वालिङमा साइकल संस्कृतिको विकास हुने प्रमुख खाँडको वुझाइ छ ।
खेलको टाइटल पुरस्कार ५ लाख रुपैया रहेको छ । प्रतियोगितामा महिला तथा पुरुषको संयुक्त प्रतिस्पर्धा रहनेछ भने प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै विजेतालाई पनि पुरस्कृत गरिनेछ । 

जसअनुसार पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फ ३ लाख नेपाली नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पनि प्रदान गरिनेछ । महिला तथा पुरुष प्रतिस्पर्धाको लागि स्वदेशी तथा विदेशी दुवै खेलाडीले भाग लिन पाउनेछन् । 

प्रतियोगितामा भाग लिनको लागि अनलाइन दर्ता गर्नुपर्ने हुन्छ । दर्ताका लागि नेपालीलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ र विदेशीलाई १ सय ५० डलर लाग्नेछ । 
प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले प्रतियोगिताका आधिकारिक वेवपेज www.nepalmtb.com मा गई रजिस्ट्रेशन गर्न सकिनेछ । 
जसको लागि आगामी जनवरी २५ सम्म र तोकिएको दस्तुर तिरेर तथा जनवरी २८ सम्म व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धाको लागि साइक्लिङ रुट वालिङ खेलमैदानबाट सुरु भई मिर्दी—त्रियासी—माझकोट—जगतभन्ज्याङ—केवरे—काफलडाँडा—ग्रहौशुर मन्दिर—वजाकोट—दाङसिगा—करादीवजार—झोलुङ्गे वजार—घुरुङ्खा (सिर्सेकोट)—डुम्रेभन्ज्याङ—स्वरेकम्रदान—स्वरेक टापु हँुदै वालिङ खेल मैदानसम्म तय गरिएको छ । 

साइक्लिङ प्रतिस्पर्धामा सहभागी भएका र गति कम भएकाहरुलाई सहज हुनेगरी १०० किलोमिटरको दुरीलाई ४ भागमा विभाजन गरिएको छ । जसअनुसार २५, ५०, ७५ र १०० किलोमिटरको दूरी रहेको छ । 

प्रतिस्पर्धीले चार तहमध्ये जति दूरी पार गरेको छ त्यसै अनुसारको प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका निर्देशक नेपालले जानकारी दिनुभयो ।

स्याङजाको वालिङमा आउँदो माघ १७ गतेबाट हुने सातौं वालिङ महोत्सवलाई साइक्लिङ प्रतियोगिताले नयाँ उचाइमा पु्र्याउने वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक शोभाकान्त पौडेलले बताउनुभयो ।

‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक एवं व्यापार मेला माघ २८ सम्म वालिङ खेल मैदानमा सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया