मनाङ मर्स्याङ्दीलाई हराउँदै नेपाल पुलिस क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

 पुस २९, २०७५ आइतबार १९:५:५७ | निर्मला खडायत
unn.prixa.net

धनगढी – मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो अन्तर्रा्ष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको ११ औं मिनेटमा हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरे । २९ औं मिनेटमा तिर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट बञ्चित भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको पुलिसका लागि सुरुवाती मिनेटमा निरकुमार राईको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२ औं मिनेटमा हेमन गुरुङको क्रसमा मोहमद आसिफको हेडरलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले बचाए ।

खेलको ६८ औं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहारमा गोल गरे । ८० औं मिनेटमा पुलिसका अब्दु करीमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो ।

पराजित टोलीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । 

निर्णायक गोल गरेका निरकुमारले खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

यस जितसँगै पुलिसले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पुलिसले अब सेमिफाइनलमा सीएमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको जानकारी प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले बनाउनुभयाे ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वाटरफाइनलमा भ्याली च्यासल युवा क्लब र रुस्लान थ्री स्टार क्लबले खेल्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया